24.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठड्रोन उडाउँदै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् सरकारको नियम

ड्रोन उडाउँदै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् सरकारको नियम

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग अत्यधिक मात्रामा हुन थालेको छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको छ ।

यदि तपाईंले सरकारी नियम थाहा नपाएरै ड्रोन उडाइरहनु भएको छ भने कानूनी झमेलामा पर्न सक्नुहुन्छ । अहिलेको समयमा विश्वव्यापी रुपमा कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भूगोल, कला, संस्कृति, मनोरञ्जन, विकास, विपत व्यवस्थापन, सूरक्षा तथा संचार जस्ता क्षेत्रमा यसको प्रयोग बढ्दो छ ।

अध्ययन, अनुसन्धान, सूचना संकलन, सर्वेक्षण तथा नक्साङ्कन एवम् छायाङ्कन गर्ने उद्देश्यले ड्रोनको प्रयोग बढ्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्ने प्रयास गरेको हो ।२०७५ को फागुनमा गृहमन्त्रालयले यसका लागि छुट्टै कार्यविधि जारी गरेको थियो । जसअनुसार ड्रोनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान उपकरण दर्ता नम्बर लिनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता वा राहदानीको प्रतिलिपि र संस्थाको हकमा संस्था दर्ताको प्रमाणपत्र, उडान उपकरण सञ्चालनको उद्देश्य, उपकरणको स्पेसिफिकेसन तथा म्यानुअलको फोटोकपी, कर तथा भन्सार बिजक आवश्यक पर्दछ । यसरी प्राप्त दर्ता नम्बर ड्रोनमा टाँस्नुपर्ने हुन्छ । 

यी क्षेत्रमा पाइँदैन ड्रोन उडाउन

गृहमन्त्रालयको कार्यविधिले सरकारी निकाय, कुटनीतिक नियोग, प्रतिष्ठान रहेको इलाका, अस्पताल, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वको इलाका, हवाई मार्ग तथा हवाई उड्डययन सञ्चालन क्षेत्र, सैनिक तथा सुरक्षा निकाय रहेको क्षेत्रलाई ड्रोन उडानका लागि संवेदनशील क्षेत्रको रुपमा राखेको छ ।

यसैगरी बस्ती, समुदाय, संरक्षित तथा आरक्षित क्षेत्रलाई मध्यम र मानव बस्तिरहित, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुल्ला क्षेत्रलाई सामान्य क्षेत्रको रुपमा वर्गीकरण गरेको छ ।

यस हिसावले विमानस्थल, उचाई सुरक्षित गरिएका हवाई मार्ग र अन्तर्राष्ट्रिय सीमानाको पाँच किलोमिटर क्षेत्रमा ड्रोन उडाउन पाइन्न । साथै काठमाडौं उपत्यकाको माइतिघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र लगायतका धार्मिक तथा पुरातात्विक सम्पदा क्षेत्रमा समेत ड्रोन उडाउन पाइँदैन ।

सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट पदाधिकारीहरुको कार्यालय तथा निवास रहेको क्षेत्रको एक किलोमिटर वरपरसम्मलाई पनि ड्रोनका लागि नियन्त्रित क्षेत्रमा राखिएको छ ।

सुरक्षा निकायको मुख्यालय तथा तालिम केन्द्र रहेको स्थानबाट एक किलोमिटरको दुरी र अन्य सुरक्षा इकाईबाट आधा किलोमिटरको दुरीमा समेत ड्रोन निषेध छ ।

उपत्यका बाहिरको हकमा स्थानीय प्रशासन तथा अधिकार प्राप्त निकायले निर्धारण गरेका धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा नियन्त्रित क्षेत्रहरुमा ड्रोन उडाउन रोक लगाइएको छ ।

यदि निषेधित क्षेत्रमा ड्रोन उडाएको खण्डमा सुरक्षा निकायले त्यसलाई जफत गरी कानून अनुसार कारबाही गर्न सक्छ ।

व्यवसायिक रुपमा ड्रोन उडाउन चाहिन्छ, पाइलटको लाइसेन्स

नेपालको कानून अनुसार ड्रोन उडान गर्न जोकसैले भने पाउँदैन । यसका लागि १८ वर्ष उमेर पुरा गरेको र रेडियो फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम प्राप्त गरेको हुनुपर्दछ ।

साथै उडान उपकरण सम्बन्धी आधारभूत ज्ञान समेत हुन आवश्यक छ । व्यवसायिक रुपमा ड्रोन उडान गर्न चाहने व्यक्तिको योग्यता पुगेको वा नपुगेको विषयमा नागरिक उड्डययन प्राधिकरणले मूल्याङ्कन र परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

रातको समयमा उडाउन पाइन्न ड्रोन

ड्रोन उडाउने समय समेत निर्धारण गरिएको छ । जसअनुसार सूर्योदयदेखि सूर्यास्तसम्मको दिउँसोको समयमा मात्रै ड्रोन उडाउन सकिने कानूनी व्यवस्था छ ।

यसका साथै ग्राउन्ड भिजिबिलिट पाँच किलोमिटर र क्लाउड सिलिङ ४५० मिटर न्यूनतम हुनुपर्दछ । यस बाहेक पानी, असिना, हिमपात, चट्याङ नभएको अवस्था हुनुपर्दछ भने हावाको बहाव १० केनोट्सभन्दा बढी हुनुहुँदैन ।

साथै उडानका लागि उडान अनुमतिपत्र समेत जरुरी हुन्छ । दुई केजीसम्म तौल भएका ड्रोनहरु जमिनको सतहबाट २०० फिटसम्मको उडान अनुमतिपत्रका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अन्यको हकमा गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।

के उडान अनुमति बिना ड्रोन उडाउनै पाइन्न त ?

अवश्य पाइन्छ । यसका लागि निश्चित सीमाहरु तोकिएका छन् । कुनै शैक्षिक अध्ययन केन्द्र वा विश्वविद्यालयको परिधिभित्र सम्बन्धित शैक्षिक संस्थाको पूर्व स्वीकृति लिएर बढीमा दुई केजीसम्म तौल भएका ड्रोनलाई अधिकतम २०० फिट उचाईसम्म उडाउनका लागि अनुमति आवश्यक पर्दैन ।

यद्यपी यस्तो क्षेत्रमा उडान गर्नु अघि नजिकैको प्रहरी वा सुरक्षा इकाईलाई अनिवार्य रुपमा जानकारी भने गराउनुपर्ने हुन्छ । साथै व्यक्तिगत गोपनीयतामा आँच पुग्नेगरी उडान गर्न चाहिँ पाइँदैन ।

यस्तै व्यक्तिगत तवरबाट आयोजना गरिने कार्यक्रम, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व एवम् उत्सवहरुमा मनोरञ्जन प्रयोजनका लागि आफ्नो घर वा क्षेत्रभित्र स्थानीय प्रहरीलाई जानकारी गराएर २५० ग्रामसम्म तौल भएको ड्रोनलाई बढीमा ४० फिटमाथिसम्म उडाउन पाइन्छ ।

सुरक्षा निकायले माग गरेको खण्डमा ड्रोन मार्फत खिचिएको भिडियो तथा फोटो भने उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

अनुमति बिना ड्रोन उडाएमा हुनसक्छ यस्तो कारबाही ?

सरकारी नियम विपरित ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा छ ।

साथै ड्रोन उडानबाट कुनै व्यक्तिको गोपनीयताको हक हनन भएको खण्डमा वा वैयक्तिक रुपमा क्षति पुगेको भए पीडित पक्षको निवेदनमा कानून अनुसार कारबाही हुन सक्छ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments