फिदिम, पाँचथर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै आन्तरिक किचलोका कारण ढल्ने दाबी गरेका छन्। पाँचथरको सदरमुकाम फिदिममा नेकपा (माओवादी) पाँचथरले आयोजना गरेको सभामा बोल्दै प्रचण्डले आफू सक्रिय रूपमा सरकार ढाल्न नलागेको बताए।
“हामी सरकार ढाल्ने खेलमा लागेका छैनौँ। यो सरकार आफ्नै किचलोले ढल्छ,” प्रचण्डले भने। “राजनीतिक रूपमा भन्दापनि बिचौलियाले बनाएको सरकार भित्र समस्या छ।”
माओवादी नेताले हालैका उपनिर्वाचन र स्ववियु निर्वाचनबाट आत्मविश्वास प्राप्त गरेको बताए। उनले पार्टी कार्यकर्तालाई आगामी आम निर्वाचनको लागि तयार रहन निर्देशन दिँदै, पार्टीले गठबन्धन नगरी स्वतन्त्र रूपमा चुनाव लड्ने जोड दिए।
“कहिले काँग्रेसलाई र एमालेलाई ठुलो बनाउन सहयोग गर्यौ तर उनीहरूले हामीलाई सानो बनाउने प्रयास गरे। हामी जनता माझ गएका छौँ र २०६४ जसरीनै जनताको साथ पाउने छौँ,” प्रचण्डले भने।
उनले झन्डै दुई तिहाइ बहुमत भएपनि वर्तमान प्रशासनको आलोचना गर्दै भने, “सरकारको राम्रो काम गर्ने उद्देश्य थिएन। नराम्रो गर्न केही गर्न बाँकी राखेको छैन। नेपाली जनतामा सरकार र सरकारको क्रियाकलाप प्रति आजित भएका छन्। कुकर्मको बोझले सरकार ढल्ने छ।”
प्रचण्डले कोशी प्रदेशको पुनः नामकरणको प्रतिबद्धता व्यक्त गर्दै भने, “संसदमा संख्या कम भएकोले नामाकरण भयो। अब जनमत अबको चुनावमा जुटाएर पुनः नामकरण गर्छौ।”
पूर्व प्रधानमन्त्रीले देशव्यापी भ्रष्टाचार विरोधी अभियान सुरु गर्ने प्रतिज्ञा गरे, साथै बिचौलियाहरूले उनको प्रारम्भिक भ्रष्टाचार विरोधी प्रयासहरूको विरोध गर्न कांग्रेस-एमाले सरकार गठन गरेको दाबी गरे।
सभामा उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य तथा प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो ‘मौसम’, प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोले पनि सम्बोधन गरेका थिए। विभिन्न क्षेत्रबाट पार्टी नेता तथा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुन फिदिम आएका थिए।