पाँचथर जिल्लामा आयोजना हुने ऐतिहासिक फुङ्गसिङ मेला–२०८२ को अवसरमा वैशाख २८ गतेदेखि अन्तर–वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पाँचथर जिल्लाको मिक्लाजुङ र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकाको संगमस्थल फुङ्गसिङ डाँडामा हरेक वर्ष उभौलीमा लाग्ने तीनदिने मेलाको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो।
किराँत युथ क्लब, मिक्लाजुङ–१ को आयोजनामा हुने यस प्रतियोगितामा पाँचथरका साथै इलाम, झापा र मोरङ जिल्लाका विभिन्न वडाका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन कुनै पनि वडाको टिमले आफ्नो वडाबाहिरबाट दुईजनासम्म खेलाडी समावेश गर्न पाउने नियम राखिएको छ।
गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशिमा दोब्बरले वृद्धि गरिएको छ। अघिल्लो वर्ष प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः २५ र १५ हजार दिइएकोमा यस वर्ष क्रमशः ५० र ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ। विजेता टिमले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। यसका साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलगायत अन्य विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।