25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठभारत-पाकिस्तान तनावः संसदमा नेपालीको सुरक्षा चिन्ता

भारत-पाकिस्तान तनावः संसदमा नेपालीको सुरक्षा चिन्ता

काठमाडौँ छिमेकी मुलुक भारत र पाकिस्तानबीच पछिल्लो समय तीव्र रूपमा बढेको तनाव र युद्धको अवस्थाले दुवै देशमा रहेका लाखौँ नेपालीहरुको सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ। सीमावर्ती क्षेत्रमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका नेपालीहरुको सुरक्षा जोखिम बढेपछि यो विषय संसदमा समेत प्रवेश गरेको छ।

संसदमा उठ्यो नेपालीको सुरक्षा चिन्ता

- Advertisement -

शुक्रबार बसेको संसद बैठकमा सांसदहरुले भारत-पाकिस्तानबीचको तनावबाट नेपालीहरुको सुरक्षामा उत्पन्न चुनौतीबारे गम्भीर चिन्ता व्यक्त गरे। सांसदहरुको चिन्ता र आवाजपछि सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सभामुख घिमिरेले नेपालीहरूको सुरक्षालगायत नेपालमा पर्नसक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए।

सांसदहरुको चिन्ता र माग

- Advertisement -

रास्वपा सांसद शिशिर खनालले परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्ध लिएको अडानको स्वागत गर्दै भने, “सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्छ।” उनले भारत-पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ती देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गरे।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत-पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए।

- Advertisement -

नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत-पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरिन्। उनले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने चेतावनी दिइन्।

सांसद सुब्बाका अनुसार, भारत-पाकिस्तानबीचको तनाव बढ्दै गए नेपालमा पनि:
– भूराजनीतिक दबाब
– कूटनीतिक असन्तुलन
– खुला सीमाको सुरक्षा जोखिम
– आर्थिक परनिर्भरता
– आपूर्ति संकट
– हवाई यातायात, पर्यटन र व्यापारमा प्रभाव पर्न सक्छ

सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटी भारत र पाकिस्तान दुवैसँग संवाद र कूटनीतिक समन्वय विस्तार गर्नुपर्नेमा जोड दिइन्।

भारत-पाकिस्तान तनावको बढ्दो क्रम

२२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको दुई सातापछि भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ नाम दिएर हवाई हमला गर्यो। बुधबार बिहान भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो, जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ।

उता पाकिस्तानले भने ती हमलामा महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ।

पाकिस्तानले बिहीबार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतले जनाएको छ। पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतको दाबी छ।

यी दुई देशबीचको बढ्दो तनावले नेपाल मात्र होइन, विश्व राजनीति समेत तरंगित भएको छ। दुई परमाणु शक्ति राष्ट्रबीचको यस युद्धले दक्षिण एसियाको राजनीतिक र सुरक्षा स्थितिमा ठूलो प्रभाव पार्ने विश्लेषकहरुको भनाइ छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments