काठमाडौँ — काठमाडौँ महानगरपालिका–३ नारायणगोपाल चोकमा गएराति टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका छन्। घटना राति पौने १ बजेतिर भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आउँदै गरेको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घटनामा मोटरसाइकल चालक २० वर्षीय दर्मातान तामाङ गम्भीर घाइते भएका छन्। उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, घाइते तामाङले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ। धादिङको गजुरी घर भएका तामाङले मोटरसाइकल चोरी गरी नयाँ बसपार्कतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।
एसपी बोहराले टिप्पर चालक घटनापछि फरार रहेको र निजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। प्रहरीले दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनास्थल वरपरका स्थानीयहरूले रातको समयमा टिप्परहरू तीव्र गतिमा चलाउने गरेको गुनासो गरेका छन्। रातको समयमा सवारी दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक व्यवस्थापनमा कडाई गर्न माग गरेका छन्।