काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले आफ्नो पार्टीको सरकारमा जाने कुनै इच्छा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा जानका लागि आफूहरूले तँछाडमछाड नगरेको बताए।
“अहिले सरकारमा जाने कुरा छैन, सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौँ,” पौडेलले भने। उनले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै थप भने, “नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न।”
पौडेलले सरकारको काम कारबाहीमा एकरूपता नभएको उल्लेख गर्दै भने, “प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न। गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न।”
उनले वर्तमान सरकारको उद्देश्यमाथि प्रश्न उठाउँदै निष्कर्षमा भने, “यसले देखाउँछ भने उहाँहरू सरकारको निम्ति सरकार, जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ।”