सूर्यकुण्ड विमानस्थलको परिकल्पना

0
213

‘सूर्यकुण्ड’ वराहक्षेत्र नगरपालिकाको सबैभन्दा अग्लो ठाउँमा अवस्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक र सामरिक महत्व बोकेको स्थान हो । सांस्कृतिक र पर्यावरणीय विविधताले भरिपूर्ण यो बस्ती पछिल्लो समय कृषि पर्यटकीय क्षेत्रका रुपमा समेत विकास भइरहेको छ । स्थानीय सरकार आएपछि सडक, पूर्वाधार, विद्युत, खानेपानीलगायतको क्रमशः विस्तार भइरहेको छ । आगामी आर्थिक वर्षका लागि पर्यटकीय क्षेत्र निर्माणका लागि स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रममा यो स्थानलाई सम्बोधन गरेको छ ।
सूर्यकुण्ड पुग्न चतरा बजारबाट – भण्डारीटार हुँदै पूर्वोत्तर चावाचादेखि पहाडी बाटो भएर पुग्न सकिन्छ । चतरा बजारबाट पूर्व बयरवन हुँदै मिलन चोक, सिंहदेवी हुँदै पनि पुगिन्छ । धरानबाट मंगलबारे– विष्णुपादुका हुँदै सूर्यकुण्ड पनि पुग्न सकिन्छ । यी सबै बाटो पदयात्राका लागि अत्यन्तै महत्वपूर्ण छन् । धरान र बयरवनबाट भाडाका सवारी ल्याण्डरोभर र पिकअप चल्छन् । यी सबै बाटोबाट निजी सवारी, मोटरसाइकल पुग्न सक्छ ।
यो ठाउँको सामान्य परिचयपछि एउटा सन्दर्भदेखि विषय प्रवेश गरौं ।
वि.सं. २०२७ सालदेखि निर्माण सुरु भई २०३१ सालदेखि सञ्चालनमा आएको सुकेटार विमानस्थल केही समय अघि चर्चामा आयो । यो चर्चा यसको नाम परिवर्तनको विषयलाई लिएर थियो । ताप्लेजुङस्थित यो विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएपछि स्थानीय राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, स्थानीयवासी सबैले आपत्ती जनाए । राष्ट्रिय विषय भयो । पछि यो निर्णयबाट सरकार पछाडि हट्यो ।
आज कोरोना महामारीका कारण लामो समयको बन्दपछि नेपाल वायुसेवा निगमको जहाज अवतरण भयो । दुई महिनादेखि नियमित उडान बन्द भएपश्चात् आज पहिलोपटक जहाज अवतरण भयो । निषेधाज्ञापूर्व नेपाल वायु सेवा निगम र सीता एयरले काठमाडौ–ताप्लेजुङ उडान भर्दै आएका थिए । नेवानीले हप्तामा ४ र सीता एयरले २ वटा फ्लाइट गर्दै आएका छन् । नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुग्यो र, ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फक्र्यो ।
सुकेटार विमानस्थल २ हजार २ सय ९७ फिटमा अवस्थित छ । ७०० मिटर लम्बाइ छ । यसको सर्फेच (पिच) असफाल्ट हो । नागरिक उड्ड्यन प्राधिकरणद्वारा सञ्चालित यो नेपाल सरकारको स्वामित्वमा छ ।
यसको अर्थ हामीसँग कम्तीमा ७०० मिटर ‘पिच सर्फेस’ हुन सक्ने स्थानको उपलब्धता भए आन्तरिक उडानका लागि विमानस्थल बन्न सक्ने रहेछ । यो त सुकेटार विमानस्थलको कुरा भयो ।
वि.सं. २०६० सालमा स्थापना भएको मनमाया एयरपोर्ट वा खानी डाँडा एयरपोर्ट खोटाङ जिल्लामा अवस्थित सानो आकारको विमानस्थल हो । स्थानीयले जग्गा उपलब्ध गराएपछि निर्माण भएको यो विमानस्थलको रनवेको कुल लम्बाई ५ सय २० मिटर छ । त्यस्तै लामीडाँडा एयरपोर्टको लम्बाई पनि ५ सय २० मिटर नै छ । त्यस्तै खोटाङकै थामखर्क विमानस्थल ६ सय ३० मिटर लम्बाइको छ । यस्तै नेपालका अन्य आन्तरिक उडान गर्ने विमानस्थलहरुमा तुम्लिङटारको लम्बाई १२ सय १० मिटर छ । भद्रपुरको १५ सय मिटर छ भने विराटनगर विमानस्थलको लम्बाई १५ सय ५ मिटर छ ।
यी तथ्यहरुलाई हेर्दा हामीले कम्तीमा पनि आन्तरिक विमानस्थलका लागि ५ सय २० मिटरदेखि माथि ‘सर्फेस पिच’ गर्न सक्ने स्थान उपलब्ध गराउनु पर्ने हुनेरहेछ ।
मुलुकमा स्थानीय तह, प्रदेश र संघीय सरकारको गठनपछि समृद्धिको दिशामा अघि बढेको छ । धेरै कुरा नारामा छन् । केही ‘पाइपलाइन’ मा होलान्, पछि धारामा आउलान् । जनताले विकासका धेरै सपना देखेका छन् । चुनावका बेला मुलुकमा प्रत्येक सम्भाव्य गन्तव्यहरूमा मोनोरेल र केबुलकार सञ्चालन गर्ने भनियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण, पूर्वी तराईको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपले सञ्चालन, पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवामा थप विमानहरू खरिद, अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने प्रतिबद्धता राजनीतिक दलका घोषणापत्रमा राखिएको थियो ।
निर्वाचनपछिका १० वर्षमा नेपालमा ३२ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो । झण्डैझण्डै आधा वर्षहरु बित्न लागेका छन् ।


मुलुकका दूरदराजमा रहेका पर्यटकीय स्थलमा होटल स्थापना, पर्यटनका पूर्वाधार निर्माणमा लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न सहुलियत ऋण प्रदान गर्ने जस्ता महत्वकांक्षी लक्ष्य सार्वजनिक गरिएको थियो ।
राजनीतिक दलका घोषणापत्र र सरकारी लक्ष्यअनुसार नै गाउँगाउँमा पर्यटनको विकास र विमानस्थल निर्माणले पूर्णता पाउने सपना जनतामा बाँडिएको थियो । यसको कार्यान्वयन गर्ने बेला त घर्किसकेको छ । तर पनि हामी सपना देखिरहेका छौं । परिकल्पना गरिरहेका छौं ।
वराहक्षेत्रमा एयरपोर्ट बन्ने हो भने एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशका अधिकांश नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । यी दुई प्रदेशमा अध्ययन, भ्रमण र पर्यटनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सीधा सम्पर्क हुनेछ ।
एक नम्बर प्रदेशका सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुरका दक्षिणी क्षेत्र र दुई नम्बर प्रदेशका सप्तरी, सिराहा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । अर्को कुरो विराटनगर एयरपोर्ट क्षेत्रीय विमानस्थलका रुपमा अघि बढेको छ । विराटनगरमा प्रतिकूल मौसम हुँदा वराहक्षेत्र सफा हुन्छ । हो यही सफा, सुन्दर, धार्मिक, ऐतिहासिक, पुरातात्विक र सामरिक महत्व बोकेको सूर्यकुण्डमा हामीले एउटा आन्तरिक विमान स्थल बनाउने सपना देखेका छौं ।
वराहक्षेत्र उत्तरमा धनकुटा जिल्लाको आहाले, दक्षिणमा सुनसरीको भोक्राहा, पश्चिममा उदयपुरको बेलका र पूर्वमा धरान उपमहानगरपालिकासँग सीमा जोडिएको विशाल क्षेत्रफल रहेको शहरोन्मुख नगर हो । पहाडी संरचनादेखि समथर फाँटसम्म भएको यो क्षेत्र विमानस्थलका लागि अति नै उपयुक्त छ ।
वराहक्षेत्र नगरपालिका आफैं प्राकृतिक रिसोर्टका रूपमा रहेको छ । यसलाई व्यवसायिक विकास गरेर लान सकिने ठाउँ छन् । त्यसका लागि यो क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने र वातावरणीय प्रभाव मूल्यांकन गर्ने दिशामा राज्य अघि बढ्नुपर्छ । स्थानीय सरकारले कम्तीमा डीपीआर गर्न बजेट विनियोजन गर्नुपर्छ ।
सूर्यकुण्ड वास्तवमै विमान स्थलका लागि उपयुक्त ठाउँ हो । पहाडी क्षेत्र, स्थान उपलब्धताको पर्याप्तता, हुस्सु, तुवाँलो, बाढी वर्षाले असर गर्न नसक्ने भौगोलिक अवस्थिति सबै दृष्टिबाट हेर्दा वराहक्षेत्र १ मा पर्ने सूर्यकुण्ड र आसपासको क्षेत्रमा एउटा विमानस्थल बन्न सक्ने अवस्था पर्याप्त छ । त्यसका लागि यहाँका जनता, जनप्रतिनिधिको एक मत हुनुपर्छ ।
सरकारी नीतिअनुसार आफ्नो क्षेत्रमा विमानस्थल निर्माण गर्न मुख्य शहरहरु कम्मर कसेर लागेका छन् । तर, दुर्भाग्य दशकौंदेखिको प्रयास सफल हुन सकेको छैन । त्यसको एउटै मात्र कारण जमिनको उपलब्धता हो । तर वराहक्षेत्र नगरपालिकामा पर्याप्त जमिन छ । मात्र दृढइच्छाशक्ति र पहलको आवश्यक्ता छ । तसर्थ अब वराहक्षेत्रले सूर्यकुण्डमा एयरपोर्ट बनाउनका लागि पहिले स्थानीय सरकारबाट डिपिआरका लागि बजेट विनियोजन गर्ने साथै प्रदेश र संघीय सरकारमा एउटा सार्थक पहलका संवाद अघि बढाउने । यसोगर्दा वराहक्षेत्रको विकासका अन्य अपेक्षित पूर्वाधार पनि स्वतः विकास हुँदै जानेछन् ।

#suryakunda
#Nilam Khanal
#\Arjun Kulun

(तस्बिर सुकेटार विमानस्थल)