पाँचथर । प्रकृतीमा रमाउदै केही दिन आनन्दको अनुभुत्ति गर्न चाहानु हुन्छ ? यदि चाहानु हुन्छ भने ठुलीटार-छिन्तापु घुम्न जानुस् ।
पाँचथर सदरमुकाम फिदिमदेखि दुइ घण्टामा तपाइ गाडी तथा बाइकमा पुग्न सक्नु हुन्छ । फिदिम-नागिन-बतासे-मकैबारी हुदै ठुलिटार पुग्नु हुन्छ । हिड्दै घुम्न रुचाउनेका लागी आकाशे हुँदै जादा अति रमाइलो छ । इलामको बिब्ल्याटेबाट पनि यहाँ पुग्न सकिन्छ ।
यो बेला गुराँस फूलेर रङ्गीचङ्गी बनेको छ । छिन्तापुको डाँडाबाट तल हेर्दा थरीथरी गुराँस फूलेको देखिन्थे । मध्यान्नको समयमा बेला बेला बेजोडले हावाले गुराँसका बोट हल्लाउथ्यो । कुहिरोको लुकामारी देखिन्थ्यो । ‘इलामबाट आउने कुहिरो पाँचथरको हावाले उडाउछ’ भन्ने स्थानीय उक्ति नै रहेको छ ।
छिन्तापुबाट आफ्नो पुरानो गोठ हेर्दै स्थानीय अनिल नेम्बाङले भने ‘मेरो गाेठलाइ गुराँसले घेरेछ । गुराँस फुल्ने बेला त हाम्रो ठाउँ रङ्गीचङ्गी देखिन्छ ।’
उनले भनेझै छिन्तापु, ठुलीटार क्षेत्र विभिन्न प्रजातिका गुराँस फुल्छन् । कति प्रजाति भन्ने अनुसन्धान नभएपनि लालीगुराँस, सेतो, निलो सहित विभिन्न प्रजातिका गुराँस यो बन क्षेत्रमा पाइन्छ । यतिबेला गुराँस फूलेर यो बन क्षेत्र हेरीरहुँ लाग्ने बनेका छन् ।
माझौले भन्ने ठाउँमा होमस्टे सञ्चालनमा ल्याएका नेम्बाङ भन्छन्, ‘यहाँ सिजन अनुसारका विशेषता रहेका छन् । बर्खामा हरियाली मस्त देखिन्छ भने असोजपछि हिमाल नजिकै देखिन्छ । घुम्नलाई धेरै ठाउँ रहेका छन् ।’
यो क्षेत्रमा जैविक विविधता, रेडपाण्डा लगायतका वन्यजन्तु महत्पूर्ण छन् । झनै गुराँस फूलेको बेला निक्कै आकर्षक देखिन्छ । भुसपाते, मझौले, ठुलीटार, छिन्तापु, होमडाँडा, गोरुवाले, देउराली, परेवा ढुङ्गा लगायतका स्थान महत्पूर्ण छन् । पैवाभञ्ज्याङदेखि पदयात्रा गर्दै छिन्तापुहुँदै सन्दकपुर, चारराते तीनसिमाना पुग्न सकिन्छ ।
सिजन अनुसार फरक र उत्कृष्ट दृश्य देखिएपनि यो ठाउँको प्रचार र पर्यटकीय पूर्वाधार विकास हुन् सकेको छैन । पटक पटक यो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रयास गरेपनि सफल हुन् नसकेको स्थानीय दिपक दुलालले बताए । सिजन अनुसार फरक तर उत्कृष्ट दृश्यदेखिने यो ठाउँ अनेकन विशेषताले सजिएको उनले सुनाए ।







