Wednesday, April 8, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरबाट केन्द्रसम्म उक्लिएका केरूङको प्रमुख सचेतकमा दाबी RD Creation

पाँचथरबाट केन्द्रसम्म उक्लिएका केरूङको प्रमुख सचेतकमा दाबी RD Creation


पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नरेन्द्रकुमार केरूङले नेपाली कांग्रेसको प्रमुख सचेतक पदमा दाबी पेश गरेका छन्। पार्टीभित्र संसदीय दलको जिम्मेवारी बाँडफाँडको चर्चा चलिरहेका बेला उनले आफ्नो अनुभव, संगठनात्मक भूमिका र वैचारिक सक्रियताको आधारमा प्रमुख सचेतक पदमा अघि आएका हुन्।

केरूङ पाँचथरबाट निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका थिए। निर्वाचनको अन्तिम मतपरिणामअनुसार केरूङले १७ हजार २ सय ३३ मत प्राप्त गरेका थिए भने शेर्माले १४ हजार ७ सय ३४ मत ल्याएका थिए।

नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति गठनसँगै पाँचथरका प्राज्ञिक तथा वैचारिक नेता केरूङ केन्द्रीय सदस्यमा चयन भएका छन्। गगन थापा नेतृत्वमा बनेको केन्द्रीय समितिमा उनको समावेशीकरणलाई पार्टीभित्र विचार, अध्ययन र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिने संकेतका रूपमा हेरिएको छ।

लामो समय शिक्षण पेशामा संलग्न रहँदै राजनीतिलाई वैचारिक धरातलमा अघि बढाएका केरूङ पाँचथर बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक हुन्। शैक्षिक क्षेत्रबाटै लोकतन्त्र, समाजवाद, समावेशिता र सुशासनका विषयमा निरन्तर बहस गर्दै आएका उनी पार्टीका नीति र विचारप्रति स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छन्। कक्षा कोठादेखि सार्वजनिक राजनीतिक मञ्चसम्म उनको सक्रियता रहँदै आएको छ।

केरूङले सभापति हुँदै पाँचथर कांग्रेसको दुई कार्यकाल नेतृत्व गरेका छन्। उनको नेतृत्वकालमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय तहमा कांग्रेसको प्रभाव बढाउने प्रयास तीव्र बनाइएको थियो। संगठनलाई जरा तहसम्म मजबुत बनाउने, आन्तरिक लोकतन्त्रलाई अभ्यासमा उतार्ने र वैचारिक प्रशिक्षणलाई निरन्तरता दिने काममा उनी अग्रसर देखिएका थिए।

कांग्रेसको १४औँ महाधिवेशनमा केरूङ केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए। महाधिवेशनमा पराजित भए पनि उनले पार्टी गतिविधिबाट आफूलाई टाढा राखेनन्। बरु महाधिवेशनपछि कांग्रेसभित्र रूपान्तरण, संगठनात्मक सुधार र वैचारिक स्पष्टताको बहस निरन्तर अघि बढाएका थिए।

यसपटक केन्द्रीय समितिमा समेटिनु र प्रमुख सचेतक पदमा दाबी पेश गर्नु उनको राजनीतिक सक्रियताको निरन्तरता मानिएको छ। पाँचथरजस्तो जिल्लाबाट केन्द्रसम्म पुग्न सफल केरूङले स्थानीय मुद्दा, शिक्षा क्षेत्रका चुनौती र लोकतान्त्रिक अभ्यासका विषयलाई राष्ट्रिय बहसमा प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

कांग्रेस संसदीय दलभित्र प्रमुख सचेतक चयनको विषयमा छलफल जारी रहेको छ। अनुभव, क्षेत्रीय सन्तुलन, संगठनमा योगदान र संसदीय क्षमता हेरेर पार्टी नेतृत्वले निर्णय गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। प्रमुख सचेतक पदलाई संसदीय अनुशासन, सांसद समन्वय र पार्टीको धारणा संसदमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने जिम्मेवारीका रूपमा लिइन्छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments