Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsमध्यपहाडी राजमार्ग: कटान र पहिरोले यात्रा जोखिमपूर्ण

मध्यपहाडी राजमार्ग: कटान र पहिरोले यात्रा जोखिमपूर्ण

बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मध्यपहाडी राजमार्गको अवस्था अझै जोखिमपूर्ण छ। पाँच महिनाअघि परेको अविरल वर्षापछि सुनकोसी नदीले विभिन्न स्थानमा राजमार्ग कटान गर्दा सडकको ठूलो हिस्सा असुरक्षित बनेको हो।

स्थानीय प्रशासनले तत्काल एकतर्फी सञ्चालनमा ल्याए पनि स्तरवृद्धि तथा पुनर्निर्माणको काम अघि नबढ्दा यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ।

विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ।

सिन्धुलीको खुर्कोटदेखि घुर्मिसम्मको करिब ६० किलोमिटर सडकखण्डमा दर्जनौँ ठाउँमा माथिबाट पहिरो खसेको छ भने धेरै स्थानमा सुनकोसीले राजमार्ग कटान गरेको छ।

हटाइएको छैन पहिरो, सडक जोखिममै

स्थानीय बासिन्दाका अनुसार पहिरो पन्छाउने र कटान भएका स्थानमा पुनर्निर्माण गर्ने काम हुन नसक्दा दुर्घटनाको जोखिम झन् बढेको छ।

स्थानीय शिक्षक डगेन्द्र कोइरालाले भने, ‘बाढीपछि राजमार्ग निकै जोखिमपूर्ण बनेको छ। ठाउँठाउँमा सडक भासिएको, चर्किएको र पहिरो खसेको छ, तर अहिलेसम्म सडक विभागले ठोस कदम चालेको छैन।’

बाढीपछि मध्यपहाडी राजमार्गमा सुख्खा पहिरोको जोखिम पनि उत्तिकै बढेको छ। सडक किनारमा पर्याप्त पर्खाल तथा पहिरो रोकथामको व्यवस्था नहुँदा सुख्खा पहिरो खस्ने सम्भावना रहेको स्थानीयको भनाइ छ।

सडक मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनालाई पत्राचार गरिसकेको छ।

तर हालसम्म कुनै प्रभावकारी पहल भएको छैन। प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले भने, ‘केही स्थानमा सडक भत्किएर नदीतर्फ भासिएको छ। समयमै मर्मत नभए राजमार्ग नै अवरुद्ध हुने खतरा छ। त्यसैले सडक विभागलाई पुनर्निर्माणका लागि अनुरोध गरेका छौँ।’

सडकको बिग्रँदो अवस्थाका कारण सवारीसाधन तथा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार राजमार्ग समयमै मर्मत नभए दुर्घटनाको दर बढ्न सक्नेछ।

‘सडक धसिएको छ, गाडीहरू जोखिम मोलेर गुडिरहेका छन्। सरकारले यसलाई प्रमुख परियोजना बनाएर मर्मत तथा पुनर्निर्माण गर्नुपर्छ,’ उनले भने।

पूर्वी पहाडी तथा तराई क्षेत्रलाई छोटो दूरीमार्फत काठमाडौं जोड्ने यस राजमार्गको स्तरोन्नति र मर्मत समयमै नहुँदा स्थानीयवासी तथा यात्रुहरू मर्कामा परेका छन्। तत्काल आवश्यक मर्मत तथा पहिरो नियन्त्रणको पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

प्रकाशित: ४ फाल्गुन २०८१ २१:१९ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments