Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री


काठमाडाैं ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको बताएकी हुन् ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएका मन्त्री डा देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रुपमा लिएर आज बिहानदेखि नै आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिएकी हुन् ।

मन्त्री डा देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको जानकारी दिइन् ।

सोही बमोजिम राजदूत डा शर्माले काम गरिरहेको र केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताइन्।

त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको मन्त्री डा देउवाले बताइन्।

यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि मन्त्री डा देउवाले बताइन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments