काठमाडौं । चालू आवको सात महीनामा १४ निर्जीवन बीमा कम्पनीहरुले कुल रू. २४ अर्ब २७ करोड बराबरको ब्यवसाय गरेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय गत आवकोे तुलनामा ७ दशमलव ८० प्रतिशत वृद्धि हो । गत आवको सात कम्पनीहरुले रू. २२ अर्ब ५१ करोड बराबरको ब्यवसाय गरेका थिए ।
सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यस कम्पनीले चालू आवको सात महीनामा रू. ३ अर्ब १३ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ८ दशमलव १६ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रू. २ अर्ब ९३ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
१४ निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आवको तुलनामा चालू आवमा चार कम्पनीको बीमाशुल्क घटेको छभने बाँकी सबैको बढेको हो । प्रतिशतका आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको बीमाशुल्क ४४ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले गत आवमा रू. ८७ करोड ३७ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब २५ करोड भन्दा बढी पुगेको छ । त्यस्तै दोस्रोमा दि ओरियण्टल इन्स्योरेन्सको ४३ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ ।




