Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठजबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ  बढिरहन्छ !

जबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ  बढिरहन्छ !


संसारका अधिकांश मुलुकहरूमा सुशासन सम्बन्धी अध्ययन हुने गर्दछ। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययन प्रतिवेदनमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा सूचीकृत भएको छ। ग्रे लिस्टमा परेको खबर हालै सार्वजनिक भएको छ। तर, देश आफैं भ्रष्टाचारी हुन सक्दैन; देशमा शासन गर्ने शासकहरूको भ्रष्टाचारकै कारण नेपाल आज विश्व सामु भ्रष्टाचारग्रस्त देशको छवि बनाउँदै गएको छ।

नेपाललाई अत्यधिक भ्रष्टाचार हुने मुलुकको दर्जामा पुर्याउने श्रेय ३५ वर्षदेखि देशमा शासन गरेका नेताहरूकै हो। म यो देशको जिम्मेवार नागरिक भएको नाताले, भ्रष्टाचारग्रस्त देशको नागरिक भए पनि, आफैं भ्रष्टाचारमा संलग्न नभए तापनि, विश्वको नजरमा हामी सबै नेपालीहरूलाई भ्रष्टाचारीका रूपमा हेरिने स्थिति सिर्जना भएको छ।

यसको अर्थ हामी नेपालीहरू जन्मसिद्ध रूपमा भ्रष्टाचारीको ट्याग भिर्न बाध्य भएका छौं। भ्रष्टाचारले जरो गाडेको देशको समाजमा एक सदस्यका रूपमा बस्नुपर्ने बाध्यता छ। देशमा शासन गर्ने शासक र जनताको हितमा काम गर्ने राज्य व्यवस्था हुनुपर्ने हो। तर, त्यो हुन नसक्दा व्यवस्था र अवस्था दुवै विफलतामा उन्मुख देखिन्छ।

लोकतन्त्रले जनताको लोककल्याणकारी राज्य व्यवस्थाको कल्पना गरेको हो। भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको अन्त्य गरी देशमा सुशासन कायम गर्ने नेतृत्व आजको आवश्यकता हो। यस्ता नेताहरू चाहिन्छन् जो भिजन, मिसन र योजना सहित दृढ विश्वासका साथ देश बनाउने अठोट बोकेका छन्।

सक्षम नेतृत्व त्यो हो, जुन क्षमतावान व्यक्तिहरूबाट छानिन्छ। जनताले चाहेको नेतृत्व नै वास्तविक नेतृत्व हो। जनताले चाहेमा सत्ता परिवर्तन गर्न सक्छन् र असक्षम नेताहरूलाई सडकमा उतार्न सक्छन्। त्यसैले जनताको चाहना र विचारलाई समेट्न सक्ने नेताको खाँचो छ।

एक सफल नेतामा शुद्ध आचरण, सदाचार र उच्च विचार अनिवार्य हुन्छ। तर, हाम्रो समाजमा नेताहरू नै भ्रष्टाचारको मूल कारण बनेका छन्। शक्ति र अधिकार प्राप्त भएपछि जनताको सेवा गर्ने बिर्सेर, आर्थिक लाभको लालचमा भ्रष्टाचारमा फस्छन्।

नेपालमा नेताहरूको भ्रष्टाचार मुख्यतः आर्थिक लाभ प्राप्त गर्ने चाहनाबाट प्रेरित हुन्छ। यहाँ धेरैले छोटो समयमा अकुत सम्पत्ति जोड्ने गरेका छन्। व्यापार, व्यवसाय वा कुनै आम्दानी स्रोत नभएको मानिसहरू अचानक अरबौंको मालिक बनेका छन्।

धन, दौलत र सुख-सुविधाले मानिसलाई सदाचारबाट टाढा पुर्याउँछ। जहाँ गए पनि भ्रष्टाचारको गन्ध फैलिएको छ। नेपालमा राजनीतिक दल र कर्मचारी तन्त्र सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न देखिन्छन्। जब देश चलाउने मुख्य संयन्त्रहरू नै भ्रष्टाचारमा लिप्त हुन्छन्, तब समाजका अन्य क्षेत्रमा पनि त्यसको नकारात्मक प्रभाव पर्छ।

अन्ततः यो भ्रष्टाचारको मारमा जनताले नै पर्छन्। बजार मूल्य वृद्धि, बेरोजगारी समस्या र सरकारको लाचारीपनका कारण जनता निराश बनेका छन्। अकुत सम्पत्ति जोड्नेहरूको अनैतिक कमाई हेरेर आम नागरिक विवश भइरहेका छन्।

अब यो भ्रष्टाचारको कहालीलाग्दो अवस्था अन्त्य गर्न जनताले नै जागरूक भएर उठ्नुपर्नेछ। जबसम्म जनताको चेतना जाग्दैन, भ्रष्टाचारको ग्राफ दिनप्रतिदिन  बढिरहन्छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:५६




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments