Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsवीरगञ्ज नाकाबाट भित्रियो १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ

वीरगञ्ज नाकाबाट भित्रियो १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ

चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेलजस्ता पदार्थ यसमा समावेश छन्।

गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यो वर्ष सोही अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ भित्रिएको छ। गत वर्ष यही अवधिमा १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु वर्ष पेट्रोलियम पदार्थको आयात र राजस्व दुवै बढेको बताए। ‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पेट्रोलियम पदार्थको माग बढेको देखिन्छ,’ उनले भने।

कार्यालयको तथ्याङ्कअनुसार, चालु वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत वर्ष सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ सङ्कलन भएको थियो।

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार, चालु वर्षको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयात भएको छ, जसबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठेको छ। त्यस्तै, २५ अर्ब ३० करोड रुपैयाँको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यसैगरी, २४ अर्ब ५ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ, जसले ४ अर्ब ५० करोड रुपैयाँ राजस्व थपेको छ। गत वर्षको आठ महिनामा भने १९ अर्ब ५२ करोड रुपैयाँको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो। रासस

प्रकाशित: ११ चैत्र २०८१ १३:२५ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments