Home English News नेपाली कांग्रेसको अर्थनीतिमा नै अन्य दलहरू हिँडिरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

नेपाली कांग्रेसको अर्थनीतिमा नै अन्य दलहरू हिँडिरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

0
नेपाली कांग्रेसको अर्थनीतिमा नै अन्य दलहरू हिँडिरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलसँग स्पष्ट अर्थनीति नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको अर्थतन्त्र उदारीकरण कांग्रेसले गरेको दाबी गरेका हुन्।

उनका अनुसार, कांग्रेसबाहेक कुनै पनि दलले आफ्नो अर्थनीति स्पष्ट रूपमा प्रस्तुत गर्न सकेका छैनन्। उनको बुझाइ छ, सबै दल कांग्रेसकै अर्थनीतिमा हिँडिरहेका छन्। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा धेरै काम भएको र अन्तर्राष्ट्रिय स्तरमा अन्यले गर्न नसकेका उपलब्धि हासिल भएको बताए। 

उनले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो। आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन।  कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अँगालिरहेका छन्।  विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरू प्रस्तुत गर्नसक्छौँ।  हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ। ’ 

उनले थपे, ‘समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ।  भारतको संसद् नेपालको जस्तो छ रु आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरू पनि हामीले गरेका छौँ। तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन।’ 

पौडेलको तर्क छ, चालु खर्च घटाउन र मितव्ययिता अपनाउन जरुरी छ। उनले संसदको संख्या २७५ बाट २०१ मा झार्न, प्रदेश सभाका सांसदको संख्या आधा घटाउन, पालिकाको संख्या घटाएर वडाको संख्या बढाउन, संघीय मन्त्रीमण्डल २५ बाट १५ मा झार्न र प्रदेश मन्त्रीमण्डल तीन सदस्यीय बनाउन प्रस्ताव गरे। उनले राजनीतिक संरचना घटाएपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताए। उनले शहीदहरूको बलिदानले ल्याएको गणतन्त्रमाथि प्रश्न उठाउने अवस्था नभएको जिकिर गरे।

प्रकाशित: ३० चैत्र २०८१ ११:४१ शनिबार