पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्मचारीहरुलाई कडा निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरबाट जारी ध्यानाकर्षण पत्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी खटन–पटनको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेका आलोचनात्मक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कार्यालयले सरकारी कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीहरुले पद तथा श्रेणी नमिलेको, खटनपटन असन्तुलित भएको जस्ता गुनासा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु अनुशासन विपरीत भएको स्पष्ट पारेको छ । यस्ता विषयमा असहमति वा गुनासा भए सम्बन्धित निकायमा लिखित वा मौखिक रुपमा जानकारी गराउनुपर्ने बताइएको छ ।
पत्रमा निर्वाचनको सन्दर्भमा साना–तिना त्रुटि हुन सक्ने भए पनि त्यसलाई अतिरञ्जित गरी सार्वजनिक मञ्चमा पोस्ट, सेयर, लाइक वा कमेन्ट गर्नु निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा अवरोध पुर्याउने कार्य ठहर हुने उल्लेख छ । यसरी आचारसंहिता विपरीत गतिविधि गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
निर्वाचन आचारसंहिता २०८२ लाई उद्धृत गर्दै निर्वाचन आयोग नेपालबाट जारी निर्देशिका पालना गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न र पदीय आचरण तथा अनुशासन कायम राख्न विशेष आग्रह गरिएको छ ।
उक्त निर्देशन पाँचथर जिल्लाभर लागू हुने जनाइएको छ ।





