Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता: तयारी पूरा, भोलीदेखि खेल सुरु RD Creation

पाँचथरमा सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता: तयारी पूरा, भोलीदेखि खेल सुरु RD Creation


पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा आयोजना हुने ‘सुम्हालुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता’को दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको छ। ब्याडमिन्टन संघ, पाँचथरको आयोजनामा बैशाख १०, ११ र १२ गते फिदिम–१ स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार खेलस्थल व्यवस्थापन, खेल तालिका निर्माण, सहभागी दर्ता तथा प्राविधिक तयारीलगायतका सम्पूर्ण काम सम्पन्न भइसकेका छन्। प्रतियोगिता भोलीदेखि औपचारिक रूपमा सुरु हुने छ।

सुम्हालुङ मन्दिरको नामबाट आयोजना गरिएको प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्नु, खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ। पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना गरिएको हो।

प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज (यू–१५), जुनियर गर्ल्स (यू–१५), जुनियर ब्वाइज (यू–१३), जुनियर गर्ल्स (यू–१३), भेट्रान्स (१००+), सुपर भेट्रान्स (६०+), आन्तरिक ‘बी’ समूह र राइजिङ प्लेयर गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ। करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार भेट्रान्स (१००+) विधामा दुई खेलाडीको उमेर जोड्दा १०० वर्षभन्दा माथि हुनुपर्नेछ। सुपर भेट्रान्स (६०+) विधामा ६० वर्षभन्दा माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् र यस विधामा नेपाल र भारतका खेलाडी सहभागी हुनेछन्। आन्तरिक ‘बी’ समूहमा भने जिल्लाका ‘बी’ समूहका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

पुरुष डबल्सतर्फ प्रथम ५५ हजार, द्वितीय २८ हजार र तृतीय २८ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने महिला डबल्स र मिक्स डबल्सतर्फ प्रथम ४० हजार, द्वितीय २० हजार र तृतीय २० हजार रुपैयाँ प्रदान गरिनेछ। जुनियर यू–१५ समूहमा प्रथम १५ हजार, द्वितीय १० हजार र तृतीय १० हजार तथा यू–१३ समूहमा प्रथम १० हजार, द्वितीय ५ हजार र तृतीय ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ। भेट्रान्स र सुपर भेट्रान्सतर्फ प्रथम ४० हजार, द्वितीय २० हजार र तृतीय २० हजार तथा आन्तरिक ‘बी’ समूहमा प्रथम ३० हजार, द्वितीय १५ हजार र तृतीय १५ हजार रुपैयाँ प्रदान गरिनेछ। राइजिङ प्लेयरलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कारतर्फ मात्र कुल ६ लाख ६ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। संघका अध्यक्ष तेजबहादुर तुम्बापोले सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै खेलप्रेमीलाई प्रतियोगिता अवलोकन गर्न आग्रह गरेका छन्।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments