HomeEnglish Newsएसइई : १३८ विद्यार्थीले दिएनन् अनिवार्य नेपालीको परीक्षा

एसइई : १३८ विद्यार्थीले दिएनन् अनिवार्य नेपालीको परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुपस्थित भएका हुन्। 

अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार चार सय ७१, प्राविधिकधार तर्फ दुई सय २० र ग्रेडवृद्धितर्फ एक सय ८५ गरी पाँच हजार आठ सय ७६ जना परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले जानकारी दिए। सामुदायिक तथा संस्थागत गरी एक सय ३९ विद्यालयबाट एसइईका लागि सात हजार चार सय ८१ विद्यार्थीले फारम भरेका थिए। प्रमुख गिरीका अनुसार मकवानपुरमा यस वर्ष २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २८ वटा केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, तीन सय ७४ निरीक्षक, ७६ परीक्षा सहायक र एक सय ५० कार्यालय सहयोगी र चार सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। 

कारागारबाटै एसइईको परीक्षा दिँदै कैदीबन्दी 
मकवानपुरको भिमफेदीस्थित कारागारमा छ जना कैदीबन्दी यस वर्षको एसइईमा सहभागी भएका छन्। कारागारमा रहेका सवारी ज्यान, जबर्जस्ती करणी, डाका, चोरी र लागू औषध मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका छ जना एसइई परीक्षामा सहभागी भएको जेलर तीर्थराज पौडेलले जानकारी गराए। जेलर पौडेलका अनुसार हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आउने र परीक्षा लिएर फर्किने गरेको जेलर पौडेलको भनाइ छ। रासस

प्रकाशित: ८ चैत्र २०८१ २१:३० शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments