HomeEnglish Newsकोटिहोमको नाममा पोखरामा विजय कृष्णमूर्तीको ताण्डव

कोटिहोमको नाममा पोखरामा विजय कृष्णमूर्तीको ताण्डव

शान्त क्षेत्र पोखरा केही दिनदेखि अशान्त बनेको छ। गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय भण्डारीले ताण्डव देखाएपछि शान्त पोखरा अशान्त बन्न थालेको हो। कोटिहोम आयोजक मानव सेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच सुरुमा देखिएको सामान्य विवाद बढ्दै गएर झडपमा परिणत हुन थालेको छ।

पोखरा–६ लेकसाइडस्थित वाराहीघाटमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म डेढ महिना लामो समयसम्म हुने कोटिहोमका लागि आयोजक मानव सेवा फाउण्डेसनले समिधा बनाउन भन्दै पोखरा–६ र पोखरा–१४ का विभिन्न ठाउँका बर, पीपल र समीका रूख मुठारेपछि आयोजक र महानगरबीच विवाद बढेको थियो। समिधाका नाममा बर, पीपल र समीका रूख काटेर चौतारी नै मासेको भन्दै महानगरले समिधाका लागि काटिएको काठदाउरा जफत गरेपछि उनीहरूबीच थप दूरी बढ्यो।

त्यसपछि महानगरले हाल तोकिएको ठाउँमा कोटिहोम गर्न नदिने निर्णय गर्‍यो। आयोजकले कोटिहोमका लागि अनुमति पनि नलिएको र कोटिहोम गर्दा प्रदूषण पनि बढ्ने भन्दै महानगरले कोटिहोम गर्न नदिने निर्णय गरेको हो। त्यसबाट बिच्किएका विजय कृष्णमूर्तीले कुनै पनि हालतमा तोकिएकै ठाउँमा कोटिहोम गरेरै छाड्ने उद्घोष गरे। ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन। कसैको डर, धाक र कसैको शक्तिले बालयोगेश्वर पोखरा छोडेर जानेवाला छैन,’ उनले भनेका थिए। त्यसबेला उनले आक्रोशित मुद्रामा चेतावनीयुक्त भाषा प्रयोग गर्दै भनेका थिए, ‘धर्मको नाममा अधर्म गर्न पनि तयार छु।’

नभन्दै शुक्रबार कोटिहोम क्षेत्र रणमैदान बन्यो। कोटिहोमका लागि भन्दै भूमिपूजन भइरहँदा महानगर प्रहरी रोक्नका लागि पुगेका थिए। तर हातहतियारसहित पूर्व तयारीमा बसेका कोटिहोम आयोजक पक्षले अटेर गरेपछि महानगर प्रहरीले हस्तक्षेपको प्रयास गर्‍यो। त्यसपछि दुई पक्षबीच कुटाकुट हुँदा ११ जना नगर प्रहरी र १५ जना आयोजक पक्षका घाइते भएका छन्।

यो विवाद यत्तिमै टुंगिने देखिएको छैन। घटनापछि दुबै पक्षले संयमता अपनाउनुको सट्टा उत्तेजित अभिव्यक्ति दिइरहेका छन्। पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले लेकसाइडस्थित बाराहीघाटमा महानगरले कुनै पनि हालतमा कोटिहोम हुन नदिने बताए। उनले भने, ‘महानगरसँग अनुमति नलिई कोटिहोम गर्न लागिएकाले रोक्न खोजेका हौं। त्यो ठाउँ कोटिहोमका लागि उपयुक्त होइन। त्यसैले महानगरले त्यहाँ कोटिहोम गर्न नदिने निर्णय गरेको र त्यो निर्णय लागू गरेरै छाडिन्छ।’

तर आयोजक विजय कृष्णमूर्तीले भने कुनै पनि हालतमा कोटिहोम गरेरै छाड्ने अडान दोहोर्‍याएका छन्। अदालतले कोटिहोम गर्न दिनू भनेर आदेश गरेकाले आफूहरूले कोटिहोम गर्न पाउनुपर्ने उनको जिकिर छ। आयोजकलाई विश्व हिन्दू महासंघको साथ छ। विश्व हिन्दू महासंघले शनिबार पत्रकार सम्मेलन गरेर लेकसाइडको बाराहीघाटमा कुनै पनि हालतमा कोटिहोम गरेरै छाड्ने उद्घोष गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले भने, ‘कोटिहोम गरेरै छाड्छौं। त्यसका लागि अधर्म गर्नु परे पनि गर्न तयार छौं।’ खरालले महानगर प्रवक्ता मोतीलाल तिमिल्सिनालाई कोटिहोमको विरोध गरिरहे उडाइदिने धम्कीसमेत दिएका छन्।

तिमिल्सिनालाई खरालले फोनमा दिएको अडियो भ्वाइसमा भनिएको छ, ‘कसरी उडाउन पर्छ, कसरी ठाउँमा पुर्‍याउनु पर्छ भन्ने हामीलाई पनि थाहा छ। समय सधैँ एकनास रहँदैन, तपाईंहरूले बदमासी गरेको चित्त बुझेको छैन। बसेर सल्लाह गर्ने भए गरौँ। होइन भने कसरी उडाउनु पर्छ, के गर्नुपर्छ हामीलाई पनि थाहा छ।’

कोटिहोम आयोजक मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक विजय कृष्णमूर्तीले महानगरको अवरोधका बाबजुद कोटिहोम गरिछाड्ने उद्घोष गर्नुको अन्तर्यको खोजी भइरहेको छ। त्यसबारे प्रश्न गर्दा आयोजक टकटकिने गरेको छ। तर स्रोत भने उनीहरूलाई नेपाल ट्रस्ट, नेपाली सेना, प्रहरी र न्यायालयको ढाडस रहेको बताउँछ। केहीले पूर्व राजा ज्ञानेन्द्रको डिजाइनमा हो भने पनि त्यसमा आंशिक सत्यता मात्र रहेको विश्व हिन्दू महासंघका पदाधिकारीहरू जिकिर गर्छन्।

पूर्व राजा ज्ञानेन्द्र करीब एक महिनादेखि पोखरामा बसेर विभिन्न गतिविधिहरू गर्नु, राप्रपाले यही बेला पोखरा केन्द्रित कार्यक्रमहरू गर्नु, दुर्गा प्रसाईंको समूहले यही बेला पटक-पटक पोखरामा कार्यक्रम गरिरहँदा कोटिहोम आयोजक महानगरको अवरोधका बाबजुद कोटिहोम गर्न उद्देलित हुनुबीच कनेक्सन छ भन्ने आशंका उनीहरूको छ। स्रोत भन्छ, ‘महानगरको अनुमति बिना नेपाल ट्रस्टले कोटिहोम गर्न आयोजकलाई जग्गा भाडामा दिनु, भूमिपूजन भइरहँदा दुई पक्षबीच भएको झडपमा प्रहरी, प्रशासन मुकदर्शक बन्नु यसको पुष्टि गर्छ।’

कोटिहोम आयोजक निकट स्रोतले भने पूर्व राजा ज्ञानेन्द्र र कोटिहोम आयोजकबीच कुनै कनेक्सन नरहेको दाबी गरे। बरु प्रहरी, सेना र न्यायालयमा भने विजय कृष्णमूर्तीले सेटिङ गरेकाले पोखरामा कोटिहोम भएरै छाड्ने उनको दाबी छ। महानगर प्रहरी कुटिंदा प्रहरी प्रशासन किन मुकदर्शक बन्यो त?  ती व्यक्तिले भने, ‘त्यसैले अदालतले पनि कोटिहोमको पक्षमा फैसला गर्छ, प्रहरी र प्रशासनले पनि सघाउँछ र कोटिहोम भएरै छाड्छ।’

प्रकाशित: २४ फाल्गुन २०८१ २२:५२ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments