Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsजुम्ला पुगेर विप्लवले रोपे स्याउ

जुम्ला पुगेर विप्लवले रोपे स्याउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जुम्लाको उर्वर भूमिमा स्याउ खेती विस्तार गर्ने अभियान थालेका छन्।

आइतबार जुम्लाको हिमा गाउँपालिका-७, धौलापानीमा उनले स्याउका बिरुवा रोप्दै औपचारिक रूपमा स्याउ बगैंचा स्थापना कार्यक्रमको उद्घाटन गरेका हुन्।

नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ।

विप्लवले आर्थिक क्रान्तिबिना मुलुकको स्वाधीनता र आत्मनिर्भरता सम्भव नहुने भन्दै कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउन आवश्यक रहेको बताए।

कार्यक्रममा महासचिव विप्लवले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कृषि उत्पादनमा संलग्न गराइएको उल्लेख गर्दै भने, ‘अहिले देशभर हामीलाई खान माग्नुपर्ने अवस्था छैन। सबै नेता-कार्यकर्ता उत्पादनमा लागेका छौँ।’

उनले स्थानीय हावापानी र मौसमअनुसारको फलफूल तथा बालीनाली उत्पादन गर्न जोड दिँदै कृषि क्रान्तिबाट मुलुक आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।

कार्यक्रममा जग्गा उपलब्ध गराउने हिमा गाउँपालिका-७, धाँचुगाउँकी कृष्ण कौरा शाहीलाई विशेष धन्यवाद दिँदै विप्लवले भने, ‘उहाँ शहीद परिवार हुनुहुन्छ, उहाँले जग्गा दिनुभयो। यसले कृषि क्रान्तिमा टेवा पुर्‍याउनेछ।’

विप्लवले उत्पादन वृद्धि नगरी देशको समृद्धि सम्भव नहुने भन्दै कृषि क्रान्तिलाई प्राथमिकतामा राखिएको बताए। ‘उर्वर बाँझो जमिन उपभोग गरिनेछ। यसले किसानहरूमा सकारात्मक सन्देश प्रवाह गर्छ। हामी गरेर देखाउनेछौँ, उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव छ।’

उनले तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी नगरेको गुनासो गर्दै भने, ‘अब सबै पार्टीले गाउँगाउँमा उत्पादन वृद्धिका लागि अभियान थाल्न जरुरी छ। हाम्रो पार्टी उत्पादन वृद्धिका क्षेत्रमा बढी केन्द्रित हुनेछ।’

उनका अनुसार नेताहरूले श्रम गर्ने संस्कार विकास गरे मात्रै जनता उत्साहित हुने र आत्मनिर्भर खेतीतर्फ उन्मुख हुनेछन्।

महासचिव विप्लवसँगै स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवकी पत्नी तथा नेकपाका अन्य नेता-कार्यकर्ताहरू जुम्ला पुगेका थिए। नेकपाले जुम्लाको स्याउको मौलिक पहिचान जोगाउँदै यसलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना बनाएको छ।

नेकपा जुम्लाका इन्चार्ज बिर्खबहादुर शाहीका अनुसार आगामी वर्षदेखि जुम्लामा उत्पादित स्याउ, सिमी, ओखरलगायतका स्थानीय बालीहरू खरिद गरी ठूला सहरहरूमा आपूर्ति गरिनेछ। ‘जुम्लाको स्याउ स्वादिलो र पोटिलो हुन्छ। यसलाई देशभर चिनाउन अभियान सञ्चालन गरिनेछ।’

महासचिव विप्लवले सोमबार कालिकोटको तिलागुफा नगरपालिका, फोईमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको नेकपाका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिए।

गत वर्ष नेकपाले हिमा गाउँपालिका-६, हडुल्यास्थित पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीको बाँझो जग्गामा बृहत् स्याउ खेतीको सुरुवात गरेको थियो।

उक्त स्थानमा २२ हजार वर्गमिटर क्षेत्रफलमा झण्डै १० हजार स्याउका बिरुवा रोपिएको थियो, जसको ७० प्रतिशत बिरुवा हुर्किसकेको छ। त्यसबेला पनि महासचिव विप्लव स्वयं जुम्ला पुगेका थिए।

प्रकाशित: ११ फाल्गुन २०८१ २१:२१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments