वराहक्षेत्र नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्णसहित प्रकाश मावि प्रथम बनेको छ । ९ स्वर्णसहित जगन्नाथ डेडराज जनता मावि दोस्रो र ३ स्वर्णसहित आदर्श मावि तेस्रो बनेका छन् ।
११ स्वर्ण जितेको प्रकाश माविले ७ रजत र ५ कास्य जितेको छ । दोस्रो जडेज माविले ६ रजत र ७ कास्य हात पारेको छ । यस्तै तेस्रो बनेको वराहक्षेत्र-२ स्थित आदर्श माविले ७ रजत र ६ कास्य पदक प्राप्त गरेको छ ।

आइतबार सम्पन्न प्रतियोगिताको समापनमा प्रथम स्थान हासिल गर्न सफल प्रकाश माविले ३० हजार रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गरेको छ । दोस्रो जडेज माविले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा तेस्रो आदर्श माविले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

४० स्वर्ण पदकका लागि बराहक्षेत्र नगरपालिकाका २८ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । बराहक्षेत्र-७ स्थित वसन्तऋतु माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा माविस्तरका खेलाडी विद्यार्थीले एथलेटिक्स, मार्सलआर्ट्स, भलिबल र कबड्डी विधाका विभिन्न वर्ग, उमेर तथा तौल समूहका १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की, नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाललगायतले पुरस्कार वितरण गरको नगर शिक्षा विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

गत वर्ष १२ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित बराहक्षेत्र-५ स्थित जगन्नाथ डेडराज जनता माविले प्रथम स्थान हासिल गरेको थियो । यस्तै ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित बराहक्षेत्र-२ स्थित आदर्श मावि दोस्रो, ४ स्वर्ण, २ रजत र २ कास्य पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।




