Skip to main content

Rd Creation

कुवेतमा ल्होछार भव्यताका साथ सम्पन्न।

दिलकुमार पाख्रीन/ ९ फेब्रुअरी, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको ज्लिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एन आर एन ए कुवेतका बरिष्ठ उपाध्यक्ष हरि लावती, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष तथा जरिरा एयरवेजका प्रतिनिधि द्वय पिटर र साब्रीह विशेष अतिथिमा आसिन थिए।

Advertisements

औपचारिक र अनौपचारिक गरि दुई भागमा विभाजन गरिएको उक्त कार्यक्रमको औपचारिक पक्ष नेपाल तामाङ घेदुङ कुवेतका महासचिव कृश्न सिंतानले सहजीकरण गरेका थिए भने अनौपचारिक अर्थात सांस्कृतिक कार्यक्रम नेपाल तामाङ संस्कृति घेदुङका अध्यक्ष हिमाल लामाले सहजीकरण गरेका थिए। औपचारिक पक्षको कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय सदस्य राम लामा, नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, एन आर एन ए कुवेतका वरिष्ठ उपाध्यक्ष हरि लावती, जजिरा एयरवेजका प्रतिनिधि पिटर र प्रमुख अतिथी नेपाली दूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सुरेश ग्याबा तामाङ, रेशम लामा र हिमाल लामाको “डेनमुला ह्याङ निदा डेनमुला” बोलको स्वागत गीत तथा तृष्णा पाख्रीन, डोल्मा तामाङ, कुमार स्याङ्तान र आर के लुङ्बाको स्वागत नृत्य प्रस्तुतिले नै कार्यक्रमको माहोल तताइ सकेको थियो। आमन्त्रित अतिथी कलाकार यु बि मोंग्रेसाले ल्होछार र तामाङ जातिले मान्ने गरेका सांस्कृतिक म्हेन्दोमाया र मनेदोराको बारेमा प्रस्ट्याउँदै आफ्नो प्रस्तुतिहरु पस्केका थिए। म्हेन्दोमाया र मनेदोरा गरि झन्डै आधा दर्जनबढी मोंग्रेसाको प्रस्तुतिले उत्साहित बनेका हजारौंको संख्यामा रहेका दर्शकहरुलाइ दोस्रो आमन्त्रित कलाकार “ब्युटि क्वीन” अन्जु लामाले आफ्नो प्रस्तुतिहरु द्वारा दर्शकहरुको पसिना काढेकी थिइन। स्टेजमा अन्जु लामाको नाम बोलाउँदा मात्रै पनि दर्शकहरुको जोशिलो हुटिङले अन्जुको प्रस्तुतिमा अझ बढी उर्जा थपि दिएको थियो। त्यसो त “वान्स मोर” को डिमान्ड प्रत्येक प्रस्तुतिमा थियो। त्यसपछि तुरुन्तै मिना लामाको प्रस्तुतिमा झुमे दर्शकहरु। सेलो र म्हेन्दोमाया गरि झन्डै आधा दर्जनबढी मिना लामाको प्रस्तुतिले उसै त पसिनाले भिजेका दर्शकहरु झन निथ्रुक्कै भए। उनलाइ उनका फ्यानहरुले टाउकोमा फेटा बाँधेर सम्मान स्वरुप फेटामा दक्षिणा सम्मा सिउरिदिएका थिए, वान्स मोरको आवाज त घन्की नै रहेको थियो। समय छोटिदै थियो। तर अझै एक जना अतिथी कलाकार बाँकी नै थियो। दर्शकहरु उत्साहले नाचेरै थाकिसकेको थियो। तर जब आमन्त्रित अतिथी कलाकार जोगलाल लामा स्टेजमा उत्रे, उनको रोमान्चक सेलो भाका र कमेडिले थाकी सकेको दर्शकहरुमा ताजगी ल्याइदियो। दर्शकहरु नाच्ने त छँदैथियो। उनको प्रस्तुतिको बिच बिचमा प्रयोग हुने कमेडिले कोहि नहाँसी रहनै सकेनन। जसले दर्शकहरुमा पुन: ताजगी संगै नयाँ जोश दिएका थिए। दिउँसो दुई बजेदेखी निरन्तर रमेका दर्शकहरु साँझ साढे ६ बज्दा पनि कलाकारहरुको प्रस्तुतिले “फ्रेश” देखिन्थे।

अन्तमा, आयोजक कमिटिले आमन्त्रित कलाकारहरुलाइ मायाको चिनो र मोमेन्टो प्रदान गर्दै सभापति सुरेश ग्याबाले कार्यक्रम समापन भएको घोषणा गरे।

नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारहरु आज आइतबार साँझ ५:५० बजे जजिरा एयरवेजको उडान भर्दै नेपाल प्रस्थान गर्दैछन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.