काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ राष्ट्र बैंकभित्रको समस्या भएको बताएका छन् ।

मङ्गलवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले वर्तमान सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे । ‘गठबन्धनमा कुनै समस्या छैन । गभर्नरको नियुक्ति ढिलो हुनु राष्ट्र बैङ्कभित्रकै समस्याले हो,’ देउवाले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्ने चर्चा असत्य भएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले स्पष्ट पारे ।
अघिल्ला दिनहरूमा दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच गभर्नर नियुक्तिमा सहमति नजुट्दा प्रक्रिया लम्बिएको चर्चा भइरहे पनि हाल देउवा र ओलीबीच सहमति भइसकेको जनाइएको छ । नयाँ गभर्नर नियुक्तिको प्रक्रिया चाँडै टुङ्गिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
