नोभेम्बर १२, कुवेत। चर्चित गायक गंगा बरदानलाई आइतबार दिउँसो बेलबारीमा बसभित्रै कुटपिट भएको छ ।
बेलबारीबाट धरानतर्फ आउदै गर्दा गायक बरदानलाई उनी चढेको बसका कण्डक्टर, सहचालक(खसाली), चालकलगायतले कुटपिट गरेको प्रहरीले जनाएको छ । गायक वरदान पत्नीसहित ना ५ ख २८९४ नम्बरको बसमा धरान आउदै गर्दा सामान्य विवादमा कुटपिट भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । घटना भएको बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएको राईले बताए । उनले कपुरीन्यूजसँग टेलिफोन सम्पर्कमा भने,‘गायक गंगा वरदानलाई बसभित्रै कुटपिट भएको रहेछ, घटनाबारे जानकारी पाएपछि बस र २ जनालाई नियन्त्रणमा लिएका छौं ।’
प्रहरीका अनुसार बसमा बस्ने सिटको बिषयमा सामान्य विवाद हुदा गायकमाथि कुटपिट भएको थियो । बस लालभित्ति भन्ने ठाउँमा आइपुग्दा सो घटना भएको थियो । उनलाई बसका कन्डक्टर उर्लाबारीका २० वर्षी रोशन श्रेष्ठ, सहचालक झापाको दमक १० का २१ वर्षीय सुजन श्रेष्ठलगायतले कुटपिट गरेका थिए । घटना भएको बससँगै चालक निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले गछियाबाट नियन्त्रणमा लिएको छ भने कण्डक्टर रोशन श्रेष्ठ फरार रहेको प्रहरी निरीक्षक राईले जानकारी दिए । ‘उहाँको कञ्चट, निधारलगायतमा चोट लागेको छ, भोली सोमबार १० बजे कार्यालयमा आउने गरी गायक घर जानुभएको छ,’उने भने । फरक जीवन शैली, पहिरन र गायकीको कारण गंगा वरदान चर्चित छन् । उनको छपनीले छान छान.., बजारै झरौ न धरानै..लगायतको गीतहरु बुढापाका, युवाहरुमाझ लोकप्रिय छन् ।
साभार: कपुरी न्युज