ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ। ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरिरहेका बेला सुरक्षाकर्मीले राँको नियन्त्रणमा लिन खोजेपछि झडप दोहोरो भएको हो।
शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका छन्।
झडपका क्रममा केही व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।
आन्दोलनरत पक्षका अगुवा सरु सिंहले आफ्ना कार्यकर्ताहरू कारसिंह लिम्बू र एके दर्नाल घाइते भएको जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन्। अन्य घाइतेको विवरण सङ्कलन भइरहेको उनको भनाई छ।
डिएसपी रवि रावलले हाल स्थितिलाई नियन्त्रणमा ल्याइसकिएको र अवस्था सामान्य रहेको जनाए।
प्रकाशित: १० फाल्गुन २०८१ २१:५९ शनिबार




