काठमाडौँ, मंगलबार
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले सहसचिव स्तरका कर्मचारी कुलमान घिसिङलाई हटाएपछि अनावश्यक राजनीतिक आरोप लगाइएको भन्दै प्रतिक्रिया दिएका छन्। उनले यसलाई सरकारको सामान्य अधिकार भएको बताए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सरकारले कर्मचारी व्यवस्थापन गर्ने अधिकार प्रयोग गर्दा दोहोरो मापदण्ड नअपनाउन चेतावनी दिए। उनले प्रचण्ड नेतृत्वको पूर्व सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाल र मुख्यसचिवलाई हटाएको उदाहरण दिएर भने, “अहिले एउटा सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन?”
भट्टराईले प्रचण्ड सरकारले ‘हुँदै नभएको’ राष्ट्रिय सुरक्षा सल्लाहकार पद सिर्जना गरेको आरोप लगाए। उनले भने, “तपाईंले प्रधानसेनापति, मुख्यसचिव हटाउनुभयो, तर अब एमाले सरकारले कर्मचारी व्यवस्थापन गर्दा यति आक्रोश किन?”
सरकारले आफ्नो अधिकार प्रयोग गर्नु स्वाभाविक भएको बताउँदै उनले यस्ता विषयमा राजनीतिक द्वन्द्व नबढाउन आग्रह गरे।