Tuesday, January 13, 2026
spot_img
HomeEnglish Newsनेसनल हाइस्कुल च्याम्पियनसिपको उपाधि प्यारामाउन्टलाई

नेसनल हाइस्कुल च्याम्पियनसिपको उपाधि प्यारामाउन्टलाई

प्यारामाउन्ट कलेजले आस्था कलेजलाई पराजित गर्दै नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल उपाधि जितेको छ।

शनिबार तल्लो मूलपानी मैदानमा सम्पन्न फाइनल खेलमा प्यारामाउन्टले आस्थामाथि ३८ रनको जित निकाल्दै उपाधि आफ्नो कब्जामा लियो। जितसँगै प्यारामाउन्टले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता आस्थाले २५ हजार रुपैयाँमा चित्त बुझायो।

१५३ रनको लक्ष्य पछ्याएको आस्था कलेज १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै समेटियो। आस्थाका सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

सुयोग भट्टराईले १३ तथा आशिष रानामगरले १० रन जोडे। प्यारामाउन्टका शिव कुँवर र आशुतोष पाण्डेले समान तीन विकेट लिए भने सागर भण्डारीले दुई र सन्देश थापाले एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्यारामाउन्टले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रनको चुनौती प्रस्तुत गरेको थियो।

टोलीका लागि सन्देश पन्थीले ५३, अमन बोहराले ४२ तथा सन्देश थापाले ३५ रनको योगदान दिए। शिव कुँवर दुई रनमा अविजित रहे। आस्थाका अभिनाश सिंहले दुई विकेट लिँदा सुगम बुढाथोकी र आशिष रानामगरले समान एक-एक विकेट लिए।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ प्यारामाउन्टका सन्देश पन्थी घोषित भए। ‘क्याच अफ द म्याच’ को उपाधि सन्तोष गजमेयरले हात पारे।

प्रतियोगितामा वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट उदीयमान बलर घोषित भए भने आस्था कलेजका भूपालकुमार दंगाल उत्कृष्ट ब्याट्सम्यान चुनिए। प्यारामाउन्टका सन्तोष थापा ‘प्लेयर अफ द सिरिज’ बने।

हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल आठ टोलीले सहभागिता जनाएका थिए।

राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रकाशित: २६ माघ २०८१ २१:०४ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments