Homeगृहपृष्ठपुलको प्रतीक्षामा सिवा खोला : जोखिममै बितिरहेका ८ महिना RD Creation

पुलको प्रतीक्षामा सिवा खोला : जोखिममै बितिरहेका ८ महिना RD Creation


कृष्ण प्रसाद दुलाल। पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ मा बग्ने सिवा खोला अहिले केवल प्राकृतिक बहाव होइन, स्थानीयका लागि दैनिक जोखिमको मार्ग बनेको छ। गत असोजमा आएको बाढीले खोला माथिको पुल बगाएको ८ महिना बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीयवासी अझै पनि खोला तरेरै आवतजावत गर्न बाध्य छन्।

वर्षा नजिकिँदै जाँदा खोलाको डर झन् बढ्न थालेको छ। सामान्य अवस्थामा पैदल यात्रा गरेर खोला पार गर्ने स्थानीयहरू पानीको सतह बढ्नेबित्तिकै आवतजावत रोक्नुपर्ने अवस्थामा पुग्छन्। यही कारण शिक्षा, स्वास्थ्य सेवा, व्यापार र दैनिक जीवन सबै प्रभावित बनेका छन्।मेची राजमार्गबाट छुट्टिएर सिवा–नवमिडाँडा हुँदै घुर्विसे पञ्चमीसम्म जोडिने कृषि सडक पनि बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा क्षतिग्रस्त छ। कतिपय स्थानमा साँघुरो र जोखिमपूर्ण बाटो भएकाले सवारीसाधन सञ्चालनसमेत चुनौतीपूर्ण बनेको स्थानीयवासी बताउँछन्।

तर सबैभन्दा ठूलो समस्या भनेकै सिवा खोलामा पुल नहुनु हो। खोलामा पानी सामान्य हुँदा पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ भने बाढीको समय पूर्ण रूपमा आवतजावत ठप्प हुन्छ।स्थानीय शुक्र राईका अनुसार लामो समयदेखि समस्या समाधान नहुनु गम्भीर लापरबाही हो। “८ महिना बितिसक्दा पनि पुल बन्ने कुनै संकेत छैन। बर्खा नजिकिँदै गर्दा डर झन् बढेको छ,” उनले भने।

युवराज हुमागाईंले सडक र पुल दुवै तत्काल निर्माण आवश्यक रहेको बताए। “यो बाटो यहाँका नागरिकको जीवनसँग जोडिएको हो, तर ध्यान पुगेको छैन,” उनले टिप्पणी गरे। त्यस्तै राज शाक्यले जोखिमपूर्ण अवस्थाप्रति सरकारको बेवास्ता दुखद भएको बताए। “मान्छेहरू दिनदिनै खोला तरेर ज्यान जोखिममा राख्न बाध्य छन्,” उनले भने।

स्थानीयका अनुसार बाढीले क्षति पुर्‍याएको लामो समय बितिसक्दा पनि पुल पुनर्निर्माण, पहिरो व्यवस्थापन र सडक मर्मतका लागि प्रभावकारी पहल हुन सकेको छैन। यदि समयमै समस्या समाधान नभए यस क्षेत्रका बस्तीहरू अझै लामो समयसम्म जोखिम र कठिनाइमै बाँच्नुपर्ने अवस्था रहने स्थानीयवासीको चिन्ता छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments