Friday, January 16, 2026
spot_img
HomeEnglish Newsपौवादुङमाका किसानलाई ७५ वटा उन्नत जातका गाई : RajdhaniDaily.com

पौवादुङमाका किसानलाई ७५ वटा उन्नत जातका गाई : RajdhaniDaily.com

भोजपुर । पौवादुङमा गाउँपालिकाले ७५ जना किसानलाई उन्नत जातको गाई वितरण गरेको छ । दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको हो । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए ।

‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने,‘पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

मुख्य रुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताए । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए ।

‘किसानलाई आर्थिक रुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मानिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ’ अध्यक्ष राईले भने,‘यस अघि हामीले किसानलाई उन्नत जातको भैंसी दिएका थियौँ । त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ । अहिले किसानले उत्पादन गरेको दुध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ ।’

गाउँपालिकाले सामुहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

‘हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ’अध्यक्ष राईले भने,‘पोषनसँगै किसानलाई रोजगारमूखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामुहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ ।’

गाउँपालिका ‘उपाध्यक्ष आत्मानिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।‘मुख्य रुपमा महिला उद्यमीलाई लक्षित गरेर गाई वितरण कार्यक्रमको अघि सारेका हौँ’ उपाध्यक्ष राईले भनिन्,‘घरको आर्थिक, व्यवहारिकसँगै पोषनको पाटोमा महिलाको ठूलो भूमिका हुन्छ । यसबाट महिलाहरुलाई उद्यमसँग जोडिन सहजता थपिएको छ ।’

गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नं १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताइन् । गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उनको भनाइ छ ।

‘मैले स्थानीय जातका गाई पाल्दै आएकी थिएँ’ शेर्पाले भनिन्, ‘अहिले गाउँपालिकाले उन्नत जातको गाई दिएको छ । गाई वितरणले हामीलाई उत्साह थपिएको छ । उत्पादन भएको दूध यहि नै बिक्री हुन्छ । यो कार्यक्रम हामी किसानको लागि निकै उपयोगि छ ।’

किसानहरु उद्यममा जोडिएसँगै श्यामशिला क्षेत्रमा उत्पादन भएको दूध तथा दूग्ध उत्पादन सदरमुकामसँगै बाहिर जाने अवस्था बनेको वडा नं १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए । मध्ये पहाडी लोकमार्गले छोएको कारण यहाँ उत्पादन भएको दूधको बजारीकरणको लागि सहजता रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

(Visited 15 times, 1 visits today)



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments