काठमाडौं । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
२०७२ सालमा रिलिज गरिएको चलचित्र रेशक फिलिलिको सिक्वेलको रूपमा फेरि रेशम फिलिली निर्माण गरेको यसका निर्माता रौनक बिक्रम कँडेलले राजधानीलाई बताए ।
निर्माता कँडेलका अनुसार महाशिवरात्रिको अवसर पारेर यो चलचित्र आगामी १४ फागुनबाट नेपालसहित विभिन्न देशमा रिलिज हुने भएको छ । यो चलचित्रको सार्वजनिक टिजर १ मिनेट ४१ सेकेन्ड लामो छ । जसमा अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा संक्षिप्तमा प्रस्तुत गरिएको छ । जबकि ट्रम्प सरकारले अहिले गैर आप्रवासीहरूलाई अमेरिकाबाट निकाला गरेको बेला पनि युवा पुस्ताको मोह अमेरिकामै छ भन्ने कुरा टिजरमा उल्लेख छ । टिजरले यो चलचित्र हास्य प्रधान जनराको भएको प्रस्ट्याउँछ । अघिल्लो सिक्वेलमा बैदेशिक रोजगारको सपना देखेका विनयले यसपटक अमेरिका जान संघर्ष गरेको टिजरले जनाउँछ ।
यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, मेक्सम गौँडेल, प्रकाश घिमिरे, सजन थापालगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीब्युसनले वितरण गर्दै छन् । यो चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशन हो । चलचित्रमा कथा पनि महर्जनकै रहेको छ ।
यसमा नरेश किङ योगीको द्वन्द्व निर्देशन, सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, तथा कालीप्रसाद बासकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइबा र दीपक शर्माको संगीत, सुरेन्द्र पौडेलको सम्पादन छ ।
यो चलचित्रलाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् । यसको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
(Visited 6 times, 1 visits today)




