Skip to main content

Rd Creation

मन्त्री यादव

काठमाडौँ ।

खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताउनु भएको छ ।

आगलागी पश्चात तत्काल मन्त्रालय पुग्नु भएका मन्त्री यादव, सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडि सहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गर्नु भएको थियो । निरीक्षण पश्चात सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिव ज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन ।” विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भन्नुभयो, “दु:खद घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो ।

मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज भने आगलागी भयो ।” आज बिहान करिब ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । अचानक लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडिले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट करिब रु ४० देखि ५० लाखसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको र क्षतिको विवरणबारे छानबिन भइरहेको छ । आज बिहान ८ बजेर ४० मिनेटमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले ९ बजेर १५ मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनुभयो ।

Advertisements



Source link

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.