विराटनगर / एक दर्जन व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–८ गुराँस चोकमा एक पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवाहरुको समूहको सामूहिक आक्रमणबाट स्थानीय ४९ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तामाङमाथि चैत ८ गते बिहानका राति १ बजेतिर बाँसको भाटा लगायतले आक्रमण गरिएको थियो ।
सामूहिक आक्रमणको घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरियो । उपचार ठीक भएको भन्दै अस्पतालले दुई दिन अघि अर्थात आइतबार उनलाई डिस्चार्ज दिएर घर पठाएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिएर गए पनि थप उपचारका लागि लैजान नपाउँदै तामाङको आफ्नै घरमा मंगलबार दिउँसो ज्यान गएको डीएसपी राईले पूर्वेली न्यूजलाइ बताए ।
घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार रहेका छ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती रहेका छन् । फरार हुनेमा सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू रहेको डीएसपी राईले बताए ।
तामाङमाथि कस्तो खालको विवादका कारण आक्रमण भएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ । आक्रमणमा संलग्नविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो । तर अहिले कुटपिट गरिएका व्यक्तिको मृत्यु नै भइसकेका कारण घटनामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन आवश्यक प्रक्रिया थालिसकेको जानकारी डीएसपी राईले दिए । स्रोत: पुर्वेली न्युजबाट साभार गरिएको।