Homeगृहपृष्ठरामधुनी नगरपालिकाको २०औँ नगरसभाबाट रु. ७५ करोड ६२ लाखको बजेट पारित, आकस्मिक...

रामधुनी नगरपालिकाको २०औँ नगरसभाबाट रु. ७५ करोड ६२ लाखको बजेट पारित, आकस्मिक बैठकपछि सहमतिमा अनुमोदन

भरौल, असार २४, २०८३, प्रदीप बासमैत
रामधुनी नगरपालिकाको २०औँ नगरसभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७५ करोड ६२ लाख २ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट अनुमोदन, पारित र सार्वजनिक गरिएको छ। नगर उपप्रमुख तारा थापा ले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, सामाजिक विकास, सुशासन तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गरिए पनि बजेटमा देखिएका केही प्राविधिक समस्याका कारण अन्तिम स्वीकृतिमा ढिलाइ भएको थियो। त्यसपछि असार २३ गते (मंगलबार) नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, नगरपालिकाका सबै तहका कर्मचारी तथा सञ्चारकर्मीहरूको आकस्मिक भेलामा बजेटमाथि विस्तृत छलफल गरिएको थियो। छलफलबाट आवश्यक प्राविधिक विषयहरू टुंग्याउँदै बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

बजेट पारितपछि आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादव ले बजेटलाई सफलतापूर्वक अनुमोदन गर्न सहयोग पुर्‍याउने नगर प्रमुख, उपप्रमुख, सम्पूर्ण जनप्रतिनिधि, वडा अध्यक्ष, कर्मचारी तथा सञ्चारकर्मीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सबै पक्षको सहकार्य र रचनात्मक सुझावका कारण बजेटलाई अन्तिम रूप दिन सम्भव भएको बताउनुभयो।

प्रस्तुत बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, समानीकरण अनुदान, आन्तरिक राजस्व तथा जनसहभागितालाई आयस्रोतका रूपमा समेटिएको छ। बजेटले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण तथा सुशासनका कार्यक्रमलाई समेत समेटेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ वटा नगर गौरवका योजना र १२३ वटा नगरस्तरीय योजना सञ्चालन गर्ने जनाएको छ। नगर गौरवका योजनाका लागि रु. ३ करोड ८० लाख तथा नगरस्तरीय योजनाका लागि रु. ६ करोड ३८ लाख ५० हजार विनियोजन गरिएको छ। विषयगत समितिहरूका लागि रु. २ करोड ७० लाख तथा आर्थिक वर्ष २०८२/०८३ को बाँकी भुक्तानी व्यवस्थापनका लागि रु. ४ करोड ५८ लाख ८० हजार छुट्याइएको छ।

विकासतर्फ विभिन्न वडामा सडक कालोपत्रे, इन्टरलक, पुल निर्माण, सडक स्तरोन्नति, खानेपानी, सरसफाइ, मन्दिर क्षेत्र विकास तथा सार्वजनिक पूर्वाधार निर्माणका योजनाहरू समेटिएका छन्। वडा नं. ५ मा सबैभन्दा बढी ७ वटा नगर गौरवका योजना समावेश गरिएको छ।

कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी ले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध रामधुनी निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रामधुनी मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रामायण सर्किट अवधारणाअन्तर्गत विभिन्न योजना अघि बढाइएको जानकारी दिनुभयो।

नगरसभाले आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विकास निर्माणलाई तीव्रता दिने तथा विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments