Friday, March 6, 2026
spot_img
Homeगृहपृष्ठवराहक्षेत्रमा कर्मचारी सङ्क्रमित, नगरपालिका बन्द, लापरबाही बढ्दो

वराहक्षेत्रमा कर्मचारी सङ्क्रमित, नगरपालिका बन्द, लापरबाही बढ्दो

राम्रो दृष्टि कोरोना संक्रमण (कोभिड–१९) को दोस्रो लहरले, वराहक्षेत्र नगरपालिकामा कर्मचारीसहित एक दर्जन सङ्क्रमित भएका छन् ।
कोरोना पोजेटिभ हुनेमा कर्मचारी पुरुष १ जना रहेका छन् । सङ्क्रमित अन्यमा वडा नं. २, ५, ६, ७, ९ र १० का स्थानीय रहेको स्वास्थ्य अधिृकत उमेश मेहताले बताए । कर्मचारीको सङ्क्रमण रिपोर्ट हिजो आएको थियो भने अन्यले अस्पतालमा आफैं आएर चेकजाँच गराएको अधिकृत मेहताले बताए ।

सङ्क्रमित हुनेमा ३० देखि ८० वर्ष उमेरका महिला तथा पुरुष रहेका छन् । महिलाको दाँजोमा पुरुष बढी सङ्क्रमित रहेको तथ्याङ्कमा देखिएको छ । उनीहरू सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य अधिकृत मेहताले जानकारी दिए  ।

कोरोना व्यवस्थापनका लागि वराहक्षेत्र र रामधुनी नगरपालिकाले  तीन स्थानलाई प्रस्ताव गरेको छ । वराहक्षेत्रको वडा नं. १ स्थित रामानन्दाचार्य सेवा पीठमा १५०, मधुवनस्थित माझी सङ्ग्रहालयमा २५ देखि ३० र रामधुनी नगरपालिकाको झुम्कास्थित कृषि तालिम केन्द्रमा ५० शैयाको आइसोलेशन सेन्टर बनाउन प्रस्ताव गरिएकोे वराहक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले बताए ।

चतरास्थित रामानन्दाचार्य सेवा पीठलाई प्रदेश १ सरकारले पहिला पनि आइसोलेशन र होल्डिङ सेन्टरको रुपमा प्रयोगमा ल्याएको थियो ।

निषेधाज्ञा पालनमा लापरबाही

हाल फैलिएको नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले विश्व आक्रान्त भइरहेको छ । सुनसरी जिल्ला प्रशासनले लागू गरेको निषेधाज्ञाको पालनामा कमजोरी देखिएको स्थानीयले गुनासो गरेका छन् ।

विवाहमा १५ जना जन्ती र प्रिती भोजमा २५ जनासम्म जान पाइने भनिए पनि त्यसको अवज्ञा गरिएको पाइएको छ । राति अबेरसम्म भीड गरिएको स्थानीयले गुनासो गरेका छन् । निषेधाज्ञाको पालनामा लापरबाही देखिएको सर्वसाधारणको गुनासो बढेको छ ।

अवज्ञा गर्नेको सवारी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय चक्रघट्टीले निषेधाज्ञाको उल्लङ्घन गर्ने ६५ वटा सवारी नियन्त्रणमा लिएको छ । दुई, तीन र चार चक्के सवारीका साधनलाई नियन्त्रणमा लिएको इप्रका चक्रघट्टीले जनाएको छ ।कारबाही पर्नेमा ४ पाङ्ग्रे ३ वटा, तीन पाङ्ग्रे १२ वटा,  र २ पाङ्ग्रे ५० वटा सवारी रहेको इप्रका चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । अवज्ञा गर्नेलाई सम्झाई–बुझाई गरी छाडिएको र आइन्दा निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।
इलाका प्रहरी कार्यालय चतराले भने निषेधाज्ञाको अवज्ञा गर्ने २५ वटा मोटर साइकललाई नियन्त्रणमा लिई कारबाही गरेको छ । चतरास्थित कोशी पूल र वडा नं. १ र २ मा २५ मोटरसाइकललाई नियन्त्रणमा लिइएको सई अमरकुमार लावतीले जानकारी दिए ।

ब्लाष्ट दैनिक स्रोत

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments