Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsहलेसी आगलागी: हार्डवेयरसहित तीन घर ध्वस्त, करोडौंको क्षति

हलेसी आगलागी: हार्डवेयरसहित तीन घर ध्वस्त, करोडौंको क्षति

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा परी एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त हुँदा करोडौँको क्षति भएको छ।

हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा हार्डवेयर पसलबाट साँझ करिब ७ः३० बजेको समयमा आगलागी सुरू भएको बताइएको छ।

आगो तीव्र रूपमा फैलिँदै जाँदा छिमेकी कैलाश राई र प्रकाशचन्द्र गिरीका घर समेत जलेर नष्ट भएको वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

वडाध्यक्ष गिरीका अनुसार हलेसी बजारकै ठूलो मानिने पूजा हार्डवेयरमा मात्रै करिब पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

‘हार्डवेयर पसल पूरै जलेर नष्ट भएको छ, अन्य दुई घरमा पनि ठूलो क्षति पुगेको छ, तर यकिन विवरण संकलन भइरहेको छ,’ उनले भने। उनका अनुसार आगलागीमा जलेका तीन घरमध्ये दुई कच्ची र एउटा पक्की भवन थिए।

घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले आगलागी सुरु भएको एक घण्टाभित्रै हार्डवेयर पसलका सबै सामान जलेर नष्ट भएको र आगोले जोडिएका दुई घरलाई समेत सखाप पारेको बताए।

‘आगो कसरी लाग्यो भन्ने यकिन भइसकेको छैन, तर हामीले पूर्ण नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा प्रयास गरिरहेका छौँ,’ उनले भने।

स्थानीयले आगो नियन्त्रण गर्न घरका झ्याल, ढोका तथा छतमा पानी लिएर बसेका थिए। हलेसीमा पानीको अभाव भएकाले आगो निभाउन टाढाबाट ट्याङ्कर, ड्रमसहितका ट्याक्टर ल्याइएको स्थानीय सञ्जय राईले बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आउन बाँकी रहे पनि थप क्षति रोक्न प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयलाई खटाइएको छ।

सदरमुकाम दिक्तेलबाट थप सुरक्षाकर्मी समेत पठाइएको उनले बताए।

खोटाङमा दमकल नहुँदा आगलागी नियन्त्रण गर्न निकै कठिन भइरहेको स्थानीयहरूले बताएका छन्। ‘बर्सेनि हुने आगलागीबाट जोगिन तत्काल दमकलको व्यवस्था गर्नुपर्छ,’ स्थानीय सञ्जय राईले सुझाव दिए।

प्रकाशित: ४ फाल्गुन २०८१ २२:२१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments