पाँचथर– पाँचथरको फेमे खोलाका लागि ५० मिटरको बेलिब्रिज प्रदेश सरकारलाई उपलब्ध गराउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई पत्रलेखे पछि तत्काल निर्माण हुने भन्दै चर्चा भईरहेको छ । बाढीले पुल बगाएको ठाँउमा वर्षायाम सुरु हुनुभन्दा अगाडी बेलिब्रिज बन्नेकुराले सो क्षेत्रका बासिन्दा खुसि हुनु स्वभाविक हो तर क्रेडिट लिनका लागि तँछाडमछाड छ । सरकारको काम नभई व्याक्ति, नेताको गोजिबाट भएजस्तै क्रेडिट लिने लर्को छ ।
तर हल्ला गरिए अनुसार तत्काल बेलिब्रिज राख्ने काम सुरु भने हुने देखिदैन् । बेलिब्रिज दिने निर्णय भएपनि कसरी राख्ने, कहाँ राख्ने, जोखिम कतिको छ भन्ने अध्ययन भईसकेको छैन भने ठेक्काको प्रक्रियापनि अघि बढेको देखिदैन् । ठेक्का लगाएर बर्षा अगाडी काम सक्न निक्कै कठिन हुने अनुमान छ ।

संघिय सडक सुपरीक्षण अनुगमन कार्यालय दमकका प्रमुख विनोद कुमार मौवार नेतृत्वको टोलिले स्थलगत भ्रमण गरेको छ ।
प्रदेश अन्तर्गतको पूर्वाधार कार्यालय पाँचथर, सडक डिभिजन कार्यालय इलाम सहितको टोलिले स्थलगत अध्ययन गरेको हो । फिदिमकाे १ र ११ का वार्ड अध्यक्ष समेत सहभागि थिए । ‘प्रदेश सरकारको प्राथमिकतमा यो बेलीब्रिज रहेको छ । ७०/८० मिटरको पुलको आवश्यकता छ । पुलमात्र होइन एप्रोज रोडपनि बनाउनु पर्ने देखिन्छ’ उनले भने ‘तत्काल के व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अध्यायनका लागि आएका हौँ । दुईवटा एप्रोज रोड राम्रो हुँदा बेलिब्रेज बनाउन सजिलो हुन्छ । हामीसँग ५० मिटरकोमात्र बेलिब्रिज छ । हामीले छलफल गरिरहेका छौँ ।’
उनका अनुसार बेलिब्रिज बनाउने विषय छलफलमै छ । असोज–१२ गतेको बाढीले यहाँको पुल बगाएको थियो । पुल नहुँदा फिदिम फालोट सडक उपभोग गर्ने स्थानीय बासिन्दा वर्षामा थुनिने चिन्तामा छन् । असोजदेखिनै बेलिब्रिजको चर्चा भएपनि काम अघि बढ्न सकेको थिएन । संघिय सरकारले बेलीब्रिज दिने निर्णय गरेपनि बन्ने नबन्ने अझै अन्योल छ । खोला आसपासको सडकपनि भत्किएकाले समस्या छ । प्रदेशको पूर्वाधार कार्यालयबाट बेलिब्रिजको काम अघि बढाउने तयारी छ ।
फेमेमा बेलिब्रिज राख्न प्रदेश सरकारले २ करोड खर्च गर्ने निर्णय गरेको कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता रमेशकुमार श्रेष्ठले बताए । केन्द्रले बेलिब्रिज प्राप्त हुने बित्तिकै यही बर्खा अगाडी बनाउने योजना अघि सारिएको उनले बताए । विपद्मा छिटो बनाउने व्यवस्था रहेकाले त्यही प्रक्रियामा ठेक्का लगाउने उनले बताए ।

बेलिब्रिज बनाउने प्रक्रियानै ढिलो गरी सुरु भएकाले असारसम्म बेलिब्रिज बन्ने सम्भावना कम रहेको इन्जिनियरहरू बताउँछन् । यो पुल नहुँदा फालेलुङ गाउँपालिका र फिदिमको १०, ११, १२ र १३ नम्बर वार्डका का बासिन्दा प्रभावित हुने देखिन्छ । अहिले अस्थायी डाइबर्सन बनाएर काम चलाइदै छ ।