Friday, January 16, 2026
spot_img
HomeEnglish Newsहार स्विकार्दै केजरीवालले भने: सत्ताका लागि राजनीतिमा आएका थिएनौँ, जनताको सेवा गरिरहन्छौँ

हार स्विकार्दै केजरीवालले भने: सत्ताका लागि राजनीतिमा आएका थिएनौँ, जनताको सेवा गरिरहन्छौँ

१० वर्ष भन्दा बढी समय भारतको दिल्लीको सत्ता चलाएको अरविन्द केजरीवालको आम आदमी पार्टी(आप)ले यस पटकको विधान सभा निर्वाचनमा भने हारको सामना गरेको छ। १० वर्ष मुख्यमन्त्री चलाएका स्वयं केजरीवाल पनि निर्वाचनमा पराजित भएका छन्। 

हालसम्मको नतिजाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी(भाजपा) बहुमत पाउने निश्चित भएको छ। जसले २७ वर्षपछि दिल्लीको प्रदेश सरकार भाजपाले बनाउने देखिएको छ। 

यता निर्वाचन पराजयपछि केजरीवालले हार स्वीकार गरेका छन्। शनिवार एक भिडिओ वक्तव्य जारी गर्दै उनले जनताको निर्णय शिरोपर भन्दै हार स्वीकार गरेका हुन्। 

‘आज दिल्लीको निर्वाचनको नतिजा आएको छ। जनताका जे निर्णय आएको छ हामी त्यसलाई विनम्रताका साथ स्वीकार गर्दछौँ, जनताको निर्णय शिरोपर,’ केजरीवालले भनेका छन्। 

यस्तै उनले जितका लागि भाजपालाई बधाई पनि दिएका छन्। ‘भारतीय जनता पार्टीलाई यस जितका लागि धेरै धेरै बधाई दिन चाहन्छु। म उमिद राख्छु कि जुन आशाका साथ जनताले भाजपालाई बहुमत दिएको छ, त्यसमा भाजपा पूरा उत्रनेछ।’ 

जनताले पछिल्लो १० वर्ष आपलाई दिएको मौकामा आफूले दिल्लीमा धेरै काम गरेको पनि दाबी गरेका छन्। ‘ती १० सालमा हामीले धेरै सारा काम ग¥यौँ,’ उनले भने।  शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, भौतिक पूर्वाधार र विभिन्न क्षेत्रमा जनतालाई राहत प्रदानका काम गरेको केजरीवालले दाबी गरे।

‘अब जनताले हामीलाई जो निर्णय दिएका छन्, केवल रचनात्मक प्रतिपक्षको भूमिका मात्र निभाउने छैनौँ, समाजसेवा, जनताको सुख दुखमा काम लाग्नेछौँ,’ केजरीवालले भने,‘किनकि हामी राजनीतिमा सत्ताका लागि आएका थिएनौँ । राजनीतिलाई हामी एक माध्यम मात्रै मान्दछौँ, जसको माध्यमले जनताको सेवा गर्न सकियोस्, जनताको सुख दुखमा साथ दिन सकियोस्। जुन काम हामी गरिरहन्छौँ।’

केजरीवालले धेरै मेहनतका साथ सानदार चुनाव लडेको भन्दै आम आदमी पार्टीका कार्यकर्तालाई पनि बधाई दिए।  

प्रकाशित: २६ माघ २०८१ १६:०१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments