वन, जलवायु परिवर्तन र आदिवासी समुदायका मुद्दामा खोजमूलक पत्रकारितालाई प्रवर्द्धन गर्न रु. ४० हजारसम्मको सहयोग
काठमाडौं, असार ३२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूलाई लक्षित गर्दै ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ। समर्पित अनुदान संयन्त्र (डिजिएम) नेपालको वित्तीय सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमले वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञानसँग सम्बन्धित विषयमा खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
फोनिजका अनुसार डिजिएम नेपाल परियोजना कार्यान्वयन भएका क्षेत्रका आदिवासी जनजाति समुदायका पत्रकारहरूले फेलोसिपका लागि आवेदन दिन सक्नेछन्। इच्छुक पत्रकारले तोकिएका विषयमध्ये कुनै एकमा न्यूनतम २५० शब्दको मौलिक अवधारणापत्र (Concept Note) तयार गरी आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
फेलोसिपमा छनोट हुने पत्रकारहरूले अध्ययन, स्थलगत भ्रमण, अनुसन्धान तथा खोजमूलक समाचार, फिचर वा विशेष रिपोर्ट तयार गर्न अधिकतम ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्राप्त गर्नेछन्। तयार गरिने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्नेछ भने कम्तीमा तीन हजार शब्दको समाचार वा फिचर तथा आवश्यक भिडियो सामग्री २१ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान), कार्यरत सञ्चार संस्थाको परिचयपत्र वा सिफारिसपत्र तथा व्यक्तिगत विवरण (सीभी) अनिवार्य रूपमा पेस गर्नुपर्ने फोनिजले जनाएको छ।
फोनिजका महासचिव समिर बलामीका अनुसार आवेदन दिने अन्तिम मिति २०८३ साल साउन ३२ गते तोकिएको छ। इच्छुक पत्रकारहरूले फोनिजको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
डिजिएम नेपालकी साधना लिम्बुले यस कार्यक्रमले आदिवासी तथा स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै वन, वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित स्थानीय समुदायका मुद्दालाई राष्ट्रिय सञ्चारमाध्यमसम्म प्रभावकारी रूपमा पुर्याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।
फोनिजले यो फेलोसिप कार्यक्रममार्फत स्थानीय तहका पत्रकारलाई अनुसन्धानमूलक पत्रकारितामा प्रोत्साहन गर्दै आदिवासी समुदायका आवाज, अनुभव र परम्परागत ज्ञानलाई मूलधारको सञ्चारमा स्थापित गर्ने अपेक्षा गरेको छ।