Skip to main content

Rd Creation

बराहक्षेत्र–५ को सार्वजनिक सुनुवाइमा जनताका प्रश्न : डुबानको समस्या समाधान किन भएन 

बराहक्षेत्र, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ को आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाइमा स्थानीयवासीले कालाबन्जार–गैरीटोल–लक्ष्मीपुरको डुवान समस्या, विकास निर्माण, खानेपानी, शिक्षा, पूर्वाधार तथा जनप्रतिनिधिको जवाफदेहिताबारे प्रश्न उठाएका छन् ।

ग्रामीण पत्रकार समूह बराहक्षेत्रको सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाइमा सहभागीका अधिकांश जिज्ञासा कालाबन्जार, गैरीटोल र लक्ष्मीपुर क्षेत्रको डुवान समस्यामा केन्द्रित थिए। स्थानीयले समस्या समाधानका लागि वडा कार्यालय र नगरपालिकाले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा पूर्व ट्राफिक प्रहरी कालिदास रेग्मी, टोल विकास समिति अध्यक्ष रोहन पाण्डे र पहलमान बस्नेतले विकास निर्माणमा स्थानीयवासीको पनि भूमिका रहने धारणा व्यक्त गरे । गुणराज खड्काले भरौल खानेपानी आयोजनाको पानीको गुणस्तरबारे प्रश्न उठाउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गरे। शोभा घिमिरेले गैरीटोल क्षेत्रमा डुवानका कारण स्थानीयले समस्या भोगिरहेको बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष तथा गैरीटोल विकास समिति अध्यक्ष दुर्गा बस्नेतले नगरलाई उल्लेख्य राजस्व बुझाउने वडा विकासमा पछि परेको बताए । उनले टोल विकास समितिलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याउँदै नगरको विकासबाट स्थानीय सन्तुष्ट हुनुपर्ने धारणा राखे ।

नेकपा (एमाले) नगर कमिटी सदस्य सुवास बस्नेतले स्थानीय सरकारको अन्तिम बजेटलाई “चुनावी बजेट” को संज्ञा दिँदै कार्यकर्तामुखी योजना समेटिएको आरोप लगाए । लक्ष्मीपुर–झोरा कालोपत्रे सडक, कालाबन्जार डुवान व्यवस्थापन र विद्यालयसँग सम्बन्धित योजना पूरा हुन नसकेको उनले बताए ।
नेपाली कांग्रेस वडा सभापति थिरबहादुर पौडेलले कालाबन्जारको पानी निकास व्यवस्थापनमा स्थानीयको पनि भूमिका रहेको उल्लेख गर्दै निकास खुलाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

श्रम संस्कृति पार्टी वडा कमिटी अध्यक्ष अमृता राई शेर्पाले सीमित बजेटका कारण श्रमदानमार्फत स्थानीय विकासमा नागरिक सहभागी हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले जनप्रतिनिधि सार्वजनिक कार्यक्रममा उपस्थित भई नागरिकका गुनासा सुन्न र जवाफ दिनुपर्ने बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले प्राविधिक अध्ययनबिनै सडक र ड्रेन निर्माण गर्दा समस्या आउन सक्ने भएकाले योजना निर्माणअघि अध्ययन गर्नुपर्ने बताए ।

थारु कल्याणकारी सभा बराहक्षेत्र नगर सभापति अधिकलाल चौधरीले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने र लागूपदार्थ दुव्र्यसन नियन्त्रणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले सार्वजनिक सुनुवाइ नियमित रूपमा सञ्चालन गर्न पनि आग्रह गरे ।

भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरी पौडेलले प्रत्येक महिना पानीको गुणस्तर परीक्षण तथा मिटर परीक्षण हुने र मापदण्डअनुसार सेवा सञ्चालन भइरहेको जानकारी दिए ।

पशु शाखा प्राविधिक प्रमुख प्रिन्स चौधरीले दुई लाख रुपैयाँको बजेटबाट सञ्चालन भएका पशु स्वास्थ्य तथा रोग नियन्त्रणसम्बन्धी कार्यक्रमबारे जानकारी प्रस्तुत गरे ।

वडा सदस्य टेकबहादुर गौतमले वडाले करिब ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गर्दै सीमित बजेट र अधिकारका कारण सबै माग सम्बोधन गर्न नसकिएको बताए । कालाबन्जार–गैरीटोल निकास योजनाका लागि छुट्याइएको २० लाख रुपैयाँमध्ये स्थानीयबाट जुटाउनुपर्ने आठ लाख रुपैयाँ संकलन हुन नसक्दा योजना कार्यान्वयन हुन नसकेको उनले जानकारी दिए ।

वडा अध्यक्ष रोहित काफ्लेले गैरीटोल र कालाबन्जार क्षेत्रको डुवान पुरानो समस्या रहेको उल्लेख गर्दै यसको समाधान वडा कार्यालयको स्रोत र अधिकारले मात्र सम्भव नभएको बताए । उनले १३ बिघा क्षेत्रको डुवान समस्या नगरसभामा उठाउँदै आएको र स्थानीय सहभागितासहित समाधानको प्रयास भइरहेको जानकारी दिए । अदालतको आदेश र प्राविधिक कारणका कारण पानी निकास व्यवस्थापनमा समस्या रहेको उनको भनाइ थियो ।

सार्वजनिक सुनुवाइमा सहभागीले डुवान नियन्त्रण, पूर्वाधार निर्माण, खानेपानी सुधार र स्थानीय सरकारको जवाफदेहिता बढाउन आगामी बजेट तथा कार्यक्रममा प्राथमिकता दिन माग गरेका थिए ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.