HomeEnglish Newsआर्मी र बागमती राष्ट्रिय आइटिएफ तेक्वान्दोमा च्याम्पियन

आर्मी र बागमती राष्ट्रिय आइटिएफ तेक्वान्दोमा च्याम्पियन

त्रिभुवन आर्मी क्लबले २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि उचाल्दै आफ्नो प्रभुत्व कायम गरेको छ भने बागमती प्रदेशले प्रथम यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शानदार प्रदर्शन गर्दै च्याम्पियनको ताज पहिरेको छ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा सम्पन्न प्रतियोगितामा आर्मीले १३ स्वर्ण, सात रजत र पाँच कांस्य पदक जित्दै आफ्नो वर्चस्व कायम गर्‍यो।

लुम्बिनी प्रदेश पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदकसहित दोस्रो भयो भने बागमती प्रदेश तीन स्वर्ण, पाँच रजत र सात कांस्य पदक जित्दै तेस्रो स्थानमा रह्यो।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका भीमबहादुर तामाङ र महिलातर्फ गण्डकी प्रदेशकी सुस्मिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए।

यु–१५ तर्फ बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र सात कांस्य जित्दै टिम च्याम्पियन बन्यो। गण्डकीले तीन स्वर्ण, पाँच रजत र चार कांस्यसहित दोस्रो स्थान हासिल गर्‍यो भने एपिएफ दुई स्वर्ण, तीन रजत र चार कांस्यसहित तेस्रो भयो।

यु–१५ का पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका भुपेश नाथ र महिलातर्फ गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट खेलाडी चुनिएको महासंघका महासचिव घमबहादुर थापामगरले जानकारी दिए।

प्रतियोगिता समापनका अवसरमा नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले विजेतालाई ट्रफी प्रदान गरे। यसअघि, राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडाले उत्कृष्ट खेलाडीहरूलाई पदक प्रदान गरेका थिए।

प्रकाशित: १७ फाल्गुन २०८१ २१:२७ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments