Saturday, April 18, 2026
spot_img
HomeEnglish News‘जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार नभई देश बन्दैन’

‘जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार नभई देश बन्दैन’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले जुनसुकै शासन व्यवस्था भए पनि अर्थतन्त्रको सुधार बिना देश समृद्ध नहुने बताएका छन्।

शनिबार टीकापुरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आठौं प्रदेश सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका गरेका हुन्।

अर्थतन्त्रमा सुधार भएमा शासन प्रणालीले खासै फरक नपर्ने उनको भनाइ थियो। उपाध्यक्ष ढकालले कोभिड-१९ महामारीले नेपालसहित विश्वका विकसित राष्ट्रहरूको अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गर्दै नेपालको आर्थिक अवस्था धराशयी हुनुमा महामारीसँगै नीतिगत कमजोरी, भ्रष्टाचार र कानून कार्यान्वयनको कमजोरी जिम्मेवार रहेको उल्लेख गरे।

उनले अनुत्पादक क्षेत्रमा लगानी बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरी व्यवसायीहरूलाई संकटमा पारेको आरोप लगाए। “अनुत्पादक क्षेत्रमा लगानी बढ्यो, त्यहीबेला ब्याजदर दोब्बर भयो। आन्तरिक र बाह्य कारणले समस्या चुलिएको हो,” उनले भने।

राष्ट्र बैंकको लापरबाहीले पनि आर्थिक संकट निम्तिएको उनको दाबी थियो। उनले नीतिगत सुधारका लागि छलफल भइरहेको जानकारी दिँदै हालसम्म ८ वटा कानून संशोधन भइसकेको र २९ वटा संशोधनको प्रक्रियामा रहेको बताए।

प्रदेश सभाको बन्दसत्रले कोषाध्यक्ष लालमणी पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँको आयव्यय विवरण र कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन गरेको छ। बन्दसत्रमा प्रदेशका विभिन्न जिल्ला, नगर र एशोसिएट संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

समारोहमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, कानूनी सल्लाहकार वीरबहादुर जेठारा, पूर्वकेन्द्रीय सदस्य हेमराज गिरी, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईं र टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज रावलले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: ९ चैत्र २०८१ १५:०१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments