Saturday, April 18, 2026
spot_img
HomeEnglish Newsतल्लो बाटो हुँदै अमेरिका पुगेका नेपाली भन्छन्: ‘फर्काइने डरले लुकेर बसेका छौं’

तल्लो बाटो हुँदै अमेरिका पुगेका नेपाली भन्छन्: ‘फर्काइने डरले लुकेर बसेका छौं’

६ महिना अघि तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङ घोराहीका समीर पाण्डे (नाम परिवर्तन) काममा नगएको दुई साता पुग्यो। कोठा भित्रै लुकेर बसेका समीर अमेरिका बसाइ कति बेला टुङ्गिने हो भन्नेमा त्रस्त छन्।

केही समय लुकेर बसेपछि अवस्था सहज होला भन्नेमा आशा बाँकी पनि छ। ‘दुई हप्ता भयो, काममा जान सकिएको छैन,’ उनले फेसबुक म्यासेन्जर कल मार्फत नागरिक न्युजसँग भने ‘कति बेला लखेटिनु पर्ने हो भन्ने डर मात्रै छ, त्यही पनि पछि अवस्था सहज हुन्छ कि भन्ने आसले हामी धेरै जना लुकेर बसेका छौं।’

अमेरिकाको क्यालिफोर्नियामा रहेका समीर अमेरिकी सरकारको पछिल्लो नीति अनुसार उनी अनधिकृत छन्। अमेरिकामा अनधिकृत रुपमा बसेका गैर अमेरिकन नागरिकलाई फिर्ता गर्ने अमेरिकन सरकारको नीतिले समीरको अमेरिका बसाई पनि जगजगी बन्दै गइरहेको छ।

‘यहाँ त बाहिर निस्कने वातावरण नै छैन, प्रहरीले खोज्दै र डिपोट हानिरहेको छ,’ समीरले भने ‘नेपाल फर्काइदेला भनेर लुकेर बस्नु परिरहेको छ।’ झण्डै ७५ लाख रुपैयाँ तिरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका समीर अमेरिका पुग्दा लागेको लगानी डुब्ने संशयमा छन्।

ऋण खोजेरै अमेरिका पुगेका उनले ऋण तिर्न सके मात्रै पनि राहत हुन्थ्यो भन्नेमा छन्। ‘अमेरिका आउँदा झण्डै ७५ लाख रुपैयाँ लगानी लाग्यो, यो रकम सबै ऋण लिएको हुँ,’ उनले भने ‘यहाँ आउँदा लागेको ऋण उस्तै छ, कम्तीमा ऋण तिर्न पाए पनि ठूलो राहत हुन्थ्यो, यही अवस्थामा नेपा फर्कनु पर्‍यो भने त्यत्रो ऋण कसरी तिर्ने ?’

समीर क्यालिफोर्निया स्थित एक स्टोरमा भर्खरै देखि काम गर्दै आएका थिए। तर नेपाल डिपोट हुने डरले अहिले उनी काममा गएका छैनन्। काममा लागेको छोटो समयमै अमेरिकाले डिपोटको नीति बनाएपछि अमेरिका यात्रा पश्चात्ताप समेत बन्न थालेको छ। ‘अहिले त किन आए हुँला भन्ने हुन थाली सक्यो,’ उनले भने ‘सपना अर्कै थिए, तर यथार्थ फरक बन्न थाल्यो।’

उनीसँगै रहेका दाङकै राजन केसी (नाम परिवर्तन) पनि नेपाल फर्काइने डरले त्राहिमाम् छन्। मोटो रकम कमाउने र दीर्घकालीन रूपमै अमेरिका बस्ने योजना सहित उनले पनि ७ महिना अघि तल्लो बाटो रोजे।

७० लाख बढी रकम दलाललाई बुझाएर अमेरिका पुगेका राजनका लागि पनि अहिले ट्रम्प नीति निकै टाउको दुखाइ बनिरहेको छ। उनी पनि कुन बेला पकडिएर नेपाल फर्काइनु पर्ने हो भन्ने त्रासमा छन्।

‘काममा जान सकिने अवस्था नै छैन, हामी जस्ता धेरैलाई काममै भएका बेला समातेर डिपोट हानिएको छ,’ उनले भने ‘काममा गयो कि समातिने डर छ, त्यसैले कोठामै लुकेर बसिरहनु परेको छ।’

उनी पनि नेपाल फर्काइए अमेरिका पुग्दा लागेको ऋण कसरी तिर्ने भन्ने पिरलोमा छन्। त्यसो त, काममा नगएका कारण कसरी कमाइ गर्ने भन्ने पिरलो पनि राजनलाई छ।

‘यसरी लुकेर कति बस्ने ? काम नगरे कसरी कमाइ हुन्छ ?’ उनले भने ‘यहाँ आउँदा लागेको ऋण तिर्न मात्रै सकेको भए पनि नेपाल फर्के पनि केही हुन्थेन, अहिले नै नेपाल फर्कनु परे यति ठुलो रकम कसरी तिर्ने होला ? साह्रै चिन्ता लागिरहेको छ।’

उनी पनि स्टोरमा काम लागेका थिए। तर अहिले कोठा भित्रै लुकेर बस्नु परेकाले आफू काममा जान नसकेको राजनले बताए। उनले आफू जस्तै धेरै नेपालीहरू अहिले जगजगीमा रहेका सुनाए।

नेपाली सहित अन्य देशबाट अनधिकृत रुपमा अमेरिका पुगेका गैर अमेरिकन नागरिकहरू अहिले लुकेर बसेको समेत उनले बताए। ‘नेपालीहरू मात्रै हैन, धेरै देशबाट अमेरिका पुगेका नागरिकहरू अहिले काममा जान नसकेको अवस्था छ,’ उनले भने ‘अमिरकाले डिपोट गरिदिने डरले धेरै मानिसहरु अहिले लुकेर बसेको अवस्था छ।’

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अनधिकृत रुपमा अमेरिकामा बसेका गैर अमेरिकन नागरिकलाई फिर्ता पठाउने नीति बनाएका थिए।

उनको यो नीति अनुरूप केही नेपाली सहित गैर अमेरिका नागरिकलाई अमेरिकाबाट डिपोट गरिसकिएको छ। अमेरिकन सरकारको यो नीतिले तल्लोबाट अमेरिका पुगेका नेपालीहरु नेपाल फिर्ता हुने त्रासमा रहेको त्यहाँ रहेका नेपालीहरू बताउँछन्।

प्रकाशित: ३ फाल्गुन २०८१ १६:१९ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments