पाँचथर- पाँचथरको याङवरक बाढीपहिरोले भौतिक तथा कृषि क्षेत्रमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले तीनवटा घर, मध्यपहाडी लोकमार्गको सिहत चारवटा झोलुङ्गे पुल र एउटा सिँचाइ आयोजना बगाएको छ भने करोडौँको नगदे बाली नष्ट गरेको छ ।
बाढीपहिरोले याङवरक गाउँपालिका वडा नं. १ (साविक च्याङथापु) का स्थानीयको घरवास उठाएको छ । प्राप्त विवरण अनुसार याङवरक-१ (साविक च्याङथापु-७) का महमलाल खवासको बस्ने घर र गोठमा रहेका वस्तुभाउ (चौपाया) बाढीले बगाएको छ ।
त्यस्तै, सोही स्थानका कविराज राईको घर पनि बाढीले पूर्ण रूपमा बगाएको छ भने याङवरक-१ (साविक च्याङथापु-६) का वलबहादुर खालिङको भान्साघर (किचन) लगायतका संरचना बाढीले बगाएर लगेको छ । पीडित परिवारहरू अहिले सुरक्षित स्थानमा शरण लिइरहेका छन् ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । याङवरक-२ स्थित दोभानेमा रहेको मध्यपहाडी लोकमार्गको निर्माणाधीन पुल बाढीले क्षती गराएको छ । उक्त पुल अघिल्लो बाढीबाट समेत आंशिक प्रभावित भएकोमा आजको बाढीले पूर्ण रूपमा बगाएको हो ।
यस्तै, बाढीले याङवरक-१ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । च्याङथापु-एकराते जोड्ने र याङवरक-२ दोभानेस्थित नाम्रेक-फलैचा जोड्ने अन्य दुईवटा झोलुङ्गे पुललाई बाढीले जीर्ण (क्षतिग्रस्त) बनाएपछि आउजाउ निकै जोखिमपूर्ण बनेको छ । यता हिलिहाङमा निर्माणाधीन अवस्थामा रहेको लिम्बुनी पुलमा समेत बाढीले क्षति पुर्याएको समाचार छ ।
यस्तै थर्पुबाट ताप्लेजुङको साब्लाखु जाने इन्द्रवाती खोलाको पुल पनि बाढीले क्षती गरेको छ ।
सम्पन्न हुने अन्तिम चरणमा पुगेको याङवरक-१ स्थित वनपाला-एकराते सिँचाइ योजना बाढीले पूरै बगाएर नष्ट गरिदिएको छ । यसैगरी, याङवरक गाउँपालिकाका वडा नं. १ र २ का अधिकांश कृषकहरूको खेतबारी बाढी र पहिरोले बगरमा परिणत गरिदिएको छ । यस क्षेत्रको मुख्य नगदे बालीको रूपमा रहेको अलैंची बारी बाढीले बगाउदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । तटिय क्षेत्रका खेत पनी बगाएके छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि अनिश कर्णले बताए ।




