पाँचथर । पाँचथरमा अब राहदानी सेवा हुलाकमार्फत घरदैलोमै पुग्ने भएको छ। नेपाल सरकारको शासनकीय सुधार सम्बन्धी “एक सय कार्यसूची” अन्तर्गत हुलाक सेवालाई ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने अवधारणाअनुसार जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला हुलाक कार्यालय पाँचथरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि उक्त सेवा सुरु गरिएको हो।
जिल्ला हुलाक कार्यालय पाँचथरका कार्यालय प्रमुख दुर्गा सम्हाम्फेले अब जिल्ला प्रशासन कार्यालयबाट जारी हुने राहदानी सेवाग्राहीको घरमै पुर्याइने जानकारी दिए। उनका अनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिएपछि तयार भएको राहदानी हुलाक कर्मचारीमार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै सुरक्षित रूपमा पुर्याइनेछ।
सम्हाम्फेले यो व्यवस्थाले राहदानी लिन पुनः सदरमुकाम फिदिम धाउनुपर्ने बाध्यता हट्ने बताए। “यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुनेछ,” उनले भने, “सार्वजनिक सेवा प्रवाहलाई अझ सरल, सहज र प्रभावकारी बनाउन यो सेवा उपयोगी हुनेछ।”
उनका अनुसार हुलाक कार्यालयले राहदानी वितरणका क्रममा कागजातको सुरक्षा, गोपनीयता र छिटो वितरणलाई उच्च प्राथमिकतामा राखेको छ। सेवा प्रभावकारी बनाउन आवश्यक समन्वय र व्यवस्थापनसमेत गरिएको उनले बताए।
सरकारले “नागरिकको घरदैलोमा सरकार” भन्ने अवधारणालाई कार्यान्वयनमा लैजान थालेको यस सेवाले ग्रामीण क्षेत्रका सेवाग्राहीलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ। जिल्ला हुलाक कार्यालय पाँचथरले सेवाग्राही तथा सरोकारवाला निकायबाट सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छ।





