काठमाडौं । मिस नेपाल २०२० कि बिजेता नम्रता श्रेष्ठ यति बेला नयाँ चलचित्र रंगी मार्फत ठुलो पर्दामा उदाउँदै छिन् । मिस नेपालको उपाधि जितेपछि उनले आफूलाई गायनमा पनि उभ्याउँदै आएकी थिइन् । तथापि आफ्नो चाहना चलचित्रमा प्रस्तुत हुनु रहेकाले रंगीबाट चलचित्र यात्रा सुरु गरेको यी सुन्दरीले बताएकी छिन् ।
राजधानीसँग गफिँदै यी नवोदित अभिनेत्रीले भनिन्, ‘मिस नेपालमा सहभागी हुनुभन्दा अघि नै नम्रता श्रेष्ठ नाम भएकै कारण मलाई धेरैले नायिका भनेर सम्बोधन गर्थे । कतिले त तपाईँको चलचित्र मैले हेरेको छु नि भन्दा म मनमनै नायिका बन्ने संकल्प गर्थेँ’, आफूलाई यस्ता घटनाहरूले पनि चलचित्रमा अभिनय गर्न प्रेरित गरेको उनले बताएकी छिन् ।
पछिल्लो समय टेलिभिजन हास्य कार्यक्रम कमेडी दरबारको ‘होस्ट’ गर्दै आएकी उनले आगामी दिनमा कार्यक्रम सञ्चालनसँगै अभिनय यात्रालाई अघि बढाउने बताएकी छिन् ।
यी सुन्दरीलाई चलचित्र रंगीका निर्माता एवम् अभिनेता सलोन बस्नेतले नायिकाको रूपमा प्रस्ताव गरेका हुन् । उनले चलचित्रमा काम गर्छिन् जस्तो सुरुमा सलोनलाई लागेको थिएन । आफूले स्क्रिप्ट सुनेर चलचित्रमा काम गर्न तयार भएको बताएपछि सलोन निकै खुसी भएको पनि नम्रताले राजधानीलाई बत्ताइन् ।
‘मिस नेपाल भइसकेपछि चलचित्रमा ग्लामर रूपमा प्रस्तुत हुन मन लाग्छ । तर चलचित्र रंगीमा मेरो चरित्र ग्लामर नभएर मिस नेपाल बन्नु अघिको जस्तो छ,’ नम्रताले भनिन्,‘यो चलचित्रमा मैले एक वालिकालाई निकै केयर गर्ने नारीको भूमिका निर्वाह गरेको छु । त्यो बालिकासँग मेरो सम्बन्ध के हो भन्ने कुरा बुझ्नको लागि भने फागुन २ गतेबाट रंगी रिलिज भएपछि तपाईँले चलचित्र घरमा गएर हेर्नु पर्छ ।’
नेपाली चलचित्रकी उनी तेस्रो नम्रता श्रेष्ठ हुन् । यस अघि दुई नम्रता श्रेष्ठले नायिकाको रूपमा नेपाली चलचित्रमा काम गरिसकेका छन् । तीन–तीन जना अभिनेत्रीको एउटै नाम हुँदाका फाइदा र बेफाइदा दुवै हुने गरेको पनि यी सुन्दरीले बताएकी छिन्,‘अरू नम्रता श्रेष्ठ दिज्युहरुले गरेको राम्रो र नराम्रो दुवै कामको जस पनि मेरो भागमा आउँदो रहेछ । तर अब मेरो चलचित्र रिलिज भएपछि मैले फरक नम्रता श्रेष्ठको परिचय बनाउने विश्वास लिएकी छु ।’
धेरैले चलचित्रमा काम गर्दा निकै गाह्रो हुने गरेको उनलाई बताएका थिए । तर नम्रतालाई चलचित्रमा काम गर्दा मिस नेपालमा भाग लिँदा जस्तो गाह्रो लागेन । कारण’bout उनले भनिन्,‘मिस नेपालमा भाग लिँदा जसरी पनि उपाधि जित्नै पर्ने भनेर दिन दिनै तनाव हुन्थ्यो । तर चलचित्रमा अभिनय गर्दा त्यस्तो केही पनि तनाव भएन’, उनले मिस वल्र्डमा भाग लिन जाँदाको अनुभव सुनाउँदै भनिन्,‘ २२ वर्षको उमेरमा एक्लै मिस वल्र्डमा सहभागी हुन जाँदाको पल निकै कठिन थियो । त्यस्ता धेरै संघर्षको पल पार गरिसकेकाले अहिले चलचित्रमा काम गर्न निकै सजिलो भएको छ ।’
चलचित्रमा आउनकै लागि अभिनय र नृत्य सिकेर नम्रताले आफूलाई पोख्त बनाएकी रहिछन् । थुप्रै पूर्व मिस नेपालहरूले चलचित्रमा डेब्यु गरेर असफलता भोगेका छन् । झरना बज्राचार्य, सृष्टि श्रेष्ठबाहेक अधिकांश मिस नेपालहरूले चलचित्रमा सफलता हासिल गर्न सकेनन् । तर आफू यो चलचित्रमा सफल हुने लक्ष्य सहित चलचित्र अभिनयमा आएको नम्रता श्रेष्ठको कथन छ ।
चलचित्र रंगी रिलिज नहुँदै नम्रतालाई अरू चलचित्रबाट पनि अभिनयको प्रस्ताव आएको छ । उनी भने चलचित्र रंगीको रिलिज कुर्दै छिन् । यही शुक्रवार प्रणय दिवसको असर पारेर नम्रताको रंगी दर्शकमाझ आउँदै छ । यो चलचित्रको परिणाम पछि आफूले अरु चलचित्रमा काम गर्ने पनि नम्रताले राजधानीलाई बत्ताइन ।
(Visited 10 times, 1 visits today)




