Saturday, April 18, 2026
spot_img
HomeEnglish Newsभोजबहादुर र प्रियान्सु क्वार्टरफाइनलमा | Nagarik News

भोजबहादुर र प्रियान्सु क्वार्टरफाइनलमा | Nagarik News

एपिएफका भोजबहादुर गुरुङ र युनिटीका प्रियान्सु क्षेत्रीले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा भएको प्रतियोगितामा प्रियान्सु नेपाल पुलिस क्लबका कविर केसीलाई २१–१९ र २१–१२ तथा भोजबहादुरले तन्डुरी हाउसका हिमान्शु मगरलाई २१–१६ र २१–९ को सोझो सेटमा हराएका हुन्।

पुरुष सिंगल्सकै अन्य खेलमा धादिङका सुजन थापाले देवीनगरका सक्षम ढकाललाई १८–२१, २१–६ र २१–१४ तथा कैलालीका रोशन साउदले फिटनेस पार्कका अमन डंगोललाई २१–१६ र २१–१५ ले पराजित गरे। पुरुष सिंगल्समा नै पुलिसका हीरा राईले कैलाली शिशीर राणालाई २०–२२, २१–१२ र २१–६ ले हराए।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यसै विधामा नेपाल आर्मीका विवेक चौधरीले आफ्नै विभागका लक्ष्मण रानामगरलाई १७–२१, २१–१९ र २१–१३, एपिएफका क्षितिज खनालले देवीनगरका विविश थापालाई २१–६ र २१–६ तथा एपिएफका प्रनिशसिंह ठकुरीले पुलिसका पूर्ण थापालाई १९–२१, २१–१३ र २३–२१ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका छन्।

पुरुष डबल्समा आर्मीका विधान अधिकारी र पबिन लिङ्थेप, बालकुमारी रिमिक्स क्लबका दिप्रिसमुणि बज्राचार्य र रमन महर्जन, धादिङका राम मल्ल ठकुरी र सुजन थापाको जोडीले क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।

यसै विधामा आर्मीका विवेक चौधरी र तुन्डुरीका हिमान्शु मगर, बालकुमारीका सुमित महर्जन र सुमन शाक्य, आयोजक क्लबका नेल्सन राई र स्पोर्ट्स हबका सुमित ठोकर, सूर्यदर्शनका दीपक राणा र जेनिश थकाली तथा एपिएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीको जोडी पनि क्वार्टरफाइनलमा पुगेका छन्।

प्रकाशित: ३ चैत्र २०८१ ०८:२५ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments