Saturday, April 18, 2026
spot_img
Homeगृहपृष्ठराप्ती नदीमा छाडियो पन्ध्र गोही

राप्ती नदीमा छाडियो पन्ध्र गोही


चितवन : चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको छ। छोडिएका मध्ये दुई भाले र १३ वटा पोथी रहेका छन्। साउनयता योसहित पटकपटक गरी एक सय १८ वटा गोही राप्ती नदीमा छाडिएको छ। छाडिएकाहरूमध्ये तीन भाले र अन्य पोथी रहेका निकुञ्ज कार्यालयले जनाएको छ।

वन्यजन्तु सप्ताहको अवसर पारेर थप १५ वटा गोही राप्तीमा छोडिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए। उनका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन्। गत आर्थिक वर्षमा एक सय पाँचवटा गोही नदीमा छाडिएको थियो।

नदी किनारबाट गोहीका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने गरिन्छ। त्यहाँ हुर्किएका बच्चालाई नदीमा छाड्ने गरिन्छ। हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ७५ वटा गोही छाडिसकिएको बताउँदै मगरले ती गोही बच्ने दररेट भने निकै न्यून रहेको जानकारी दिए।

उनका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय १३ वटा गोही भेटिएका थिए। हाल प्रजनन केन्द्रमा छ सय ८२ वटा गोही छन्। घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्।

सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ। सन् १९७० मा त्यसको दुई प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो।

त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायत कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए।

नदीमा बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या छ। हरेक वर्ष नदीमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा सङ्ख्या भने बढेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments