सामाजिक सञ्जाल भन्नाले इन्टरनेटमार्फत मानिस–मानिसबीच सम्पर्क, जानकारीको आदान–प्रदान, विचार–विमर्श, मनोरञ्जन र सामूहिक सम्बन्ध बनाउने डिजिटल माध्यम वा प्लेटफर्म हो।

हामी २१औँ शताब्दीका मानिस। प्रविधिको तीव्र विकाससँगै हाम्रो दैनिक जीवन सामाजिक सञ्जालसँग जोडिएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, ट्वीटर जस्ता प्लेटफर्महरूले हामीलाई केवल मनोरञ्जन मात्र दिएनन्, अवसरहरू को नयाँ ढोका नै खोलेका छन्।
सबैभन्दा पहिलो कुरा, सामाजिक सञ्जाल एक विशाल जानकारीको भण्डार हो। विश्वका कुनाकाप्चाबाट समाचार, तथ्य, वैज्ञानिक अनुसन्धानदेखि लिएर स्थानीय घटनासम्म– केही सेकेन्डमै थाहा पाउन सक्छौँ। यो सूचनाको पहुँच नै नयाँ अवसर हो।
अनलाइन क्लास, , तालिम, सीप विकासका भिडियो– यी सबैले विद्यार्थी र युवालाई सक्षम बनाइरहेका छन्। घरमै बसेर नयाँ सीप सिक्ने अवसर पहिले कहिल्यै यो स्तरमा उपलब्ध थिएन।
सामाजिक सञ्जाल आजको डिजिटल बजार हो। साना–ठूला व्यापारले आफ्नो उत्पादकता प्रचार–प्रसारदेखि बिक्रीसम्म अनलाइनबाटै गर्न सक्ने सुविधा पाएका छन्। रोजगारी खोज्ने, नेटवर्क विस्तार गर्ने र ग्राहक पाउने सम्भावना पनि बढेको छ गीत, कविता, नृत्य, कला, अभिनय– जुनसुकै सीपलाई लाखौँ दर्शकसम्म पुर्याउने अवसर आज सामाजिक सञ्जालले सम्भव बनाएको छ। गाउँघरका प्रतिभाहरू पनि विश्वभर चिनिन थालेका छन्।
सामाजिक समस्या, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, मानव अधिकार जस्ता विषयमा अभियान चलाउन यो प्रभावकारी माध्यम बनेको छ तर जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती पनि हुन्छन्। सामाजिक सञ्जालले दिएको चुनौती आजको समाजका लागि गम्भीर विषय बन्न थालेका छन्।सबैभन्दा ठूलो चुनौती हो— गलत सूचना र अफवाहको बाढी। कुनै पनि समाचारको सत्यता पुष्टि नगरी शेयर गर्ने प्रवृत्तिका कारण समाजमा भ्रम, तनाव र द्वन्द्व उत्पन्न हुँदै गएको छ।
यस्तै, साइबर बुलिइङ आजका धेरै विद्यार्थी र युवाहरुले भोग्नु परेको समस्या हो। अनलाइनमार्फत गालीगलौज, उपहास र धम्कीले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्दैछ।
त्यस्तै, गोपनीयता र सुरक्षाको खतरा पनि त्यत्तिकै महत्वपूर्ण चुनौती हो। एक साधारण क्लिकले पनि व्यक्तिगत फोटो, भिडियो र डाटाहरू दुरुपयोगकर्ताको हातमा पुग्न सक्छन्। ह्याकिङ, ठगी जोखिम दिनदिनै बढ्दै छन्।सामाजिक सञ्जालले समयको दुरुपयोग र लत पनि निम्त्याएको छ। घण्टौँ–घण्टौँ समय समाजिक सञ्जालमा बस्न थालेपछि पढाइ, काम, परिवार र वास्तविक जीवनका सम्बन्धहरू कमजोर हुँदै जान्छन्।
अर्को ठूलो चुनौती भनेको नकारात्मक सामग्रीको प्रभाव हो। हिंसा, दुव्र्यसन, अश्लीलता तथा गलत विचारधाराको सामग्रीले युवाको सोच र व्यवहारमा नकारात्मक असर पार्न सक्छ।सामाजिक सञ्जाल आफैँ खराब होइन। तर, यसको गलत उपयोगले मात्र चुनौती पैदा गर्छ। त्यसैले, हामीले सचेत, जिम्मेवार र सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्न आवश्यक छ।
अन्त्यमा, सामाजिक सञ्जालबाट आउने चुनौतीहरूलाई बुझेर, सही उपयोग गरेर मात्र हामीले यसको फाइदा उठाउन सक्छौँ।
प्रयोग कर्ताले सामाजिक सञ्जाललाई सीप, ज्ञान, व्यवसाय र सकारात्मक परिवर्तनको माध्यम बनाऔँ।
अवसरलाई पहिचान गरौँ र सही दिशामा प्रयोग गरौँ।
