Skip to main content

Rd Creation

पाटन क्याम्पसमा ३० विद्यार्थीको भर्ना रद्द, योग्यताको आधारमा गर्न निर्देशन

पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर ‘पकेट’का विद्यार्थीको भर्ना गरिएको थियो ।

Advertisements

नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रिविले छानबिन समिति बनाएको थियो । त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर भर्ना भएको प्रतिवेदन बुझाएपछि योग्यताको आधारमा भर्ना गर्न पाटन क्याम्पसलाई निर्देशनसहितको पत्र पठाइएको छ ।

‘छानबिन समितिको प्रतिवेदन अनुसार विद्यार्थी भर्ना गर्न क्याम्पसलाई डिन कार्यालयले पत्र पठाइसकेको छ। तत्काल मेरिट लिस्ट निकाल्ने भनिएको छ,’ उनले भने।

चौथो लिस्टसम्म मेरिटको आभारमा ११४ जना विद्यार्थी भर्ना भएका थिए । त्यसपछि ३० जना भने विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर भर्ना गरिएको थियो ।
‘फस्ट कम फस्ट’ भन्दै क्याम्पसले मेरिटको पाँचौ लिस्ट सार्वजनिक नगरी गोप्यरुपमा विद्यार्थी भर्ना गरेको थियो ।
‘फस्ट कम फस्ट भनेर विद्यार्थी भर्ना गरेको रहेछ । अब त्यो रद्द भइसकेको छ । पाँचौ लिस्ट क्याम्पसले निकाल्छ,’ सहायक डिन मण्डलले भने, ‘जहाँसम्म मेरिटको आधारमा भर्ना भएको छ त्यो ठीक छ । त्यसपछिको नयाँ भर्ना हुन्छ ।’

चौथो लिस्टमा प्रवेश परीक्षामा उत्तीर्ण भएका १ हजार ७९८ सम्मको नाम छ । त्यसपछि पाँचौ लिस्टमा १८ सयबाट भर्ना हुनुपर्ने हो। पाँचौं लिस्टमा १ हजार ८२८ सम्म छन् । तर क्याम्पसले नियमविपरीत ३ हजार, ४ हजार र ६ हजरमा रहेकालाई भर्ना गरेको थियो । दसैं र तिहारको बीचमा क्याम्पसले योग्यताभन्दा बाहिरका विद्यार्थी भर्ना गरेको पीडित विद्यार्थीको आरोप छ।

‘पहिलो, दोस्रो, तेस्रो र चौथो लिस्टसम्म प्रक्रियाबाट भर्ना भएको छ । त्यसपछि पाँचौं लिस्ट निकालिएन । मेरिट मिचेर आफ्नो पकेटको विद्यार्थी भर्ना गरिएको होे,’ भर्ना हुन नपाएका राजकुमार खत्रीले भने ।

नियम मिचेर भर्ना गर्ने क्याम्पसका पदाधिकारीलाई डिन कार्यालयले सचेत पनि गराएको छ । ‘नियमसंगत ढंगले भर्ना गर्न क्याम्पसको पूरै कमिटिलाई सचेत गराएका छौँ,’ सहायक डिन मण्डलले भने ।

नियम मिचेर विद्यार्थी भर्ना गर्दा मेरिटमा नपरेकाहरु पनि कक्षामा गएर पढिरहेका थिए भने मेरिटमा परेका चाहिँ कक्षा बाहिरै थिए । पीडित विद्यार्थीहरू तिहारअघिदेखि नै बारम्बार क्याम्पस धाइरहेका छन्। तर क्याम्पसका पदाधिकारीले जो पहिला आयो त्यसैलाई भर्ना गरेको जवाफ दिने गरेको पीडित विद्यार्थीहरू बताउँछन् ।

क्याम्पसबाट सम्बोधन नभएपछि पीडित विद्यार्थीहरू उपकुलपति कार्यालय, रेक्टर र डिन कार्यालयमा उजुरी दिएका थिए ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.