Tuesday, April 21, 2026
spot_img
HomeEnglish News१० औं संस्करणको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि

१० औं संस्करणको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि

काठमाडौं । १० औं संस्करणको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि काठमाडौमा हुने भएको छ । 

आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ । २९ गतेसम्म चल्ने मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । महासंघले प्रत्येक वर्ष उक्त मेला आयोजना गर्दै आएको छ । 

कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ ।

महासंघका अनुसार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरुका उत्पादनहरूका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरू छन् । मेलाका अवसरमा अन्तरराष्ट्रिय खरीदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको महासंघले जनाएको छ । 

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् । 

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने आयोजकले जनाएको छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करीब २० हजार जनाले अवलोकन गर्ने अपेक्षा छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तररष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छूटको व्यवस्था समेत गरिएको र २०८१ चैत ११ गतेबाट स्टल बुकिङ खुला गरिएको महासंघले जानकारी गराएको छ ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments